arrow

मौद्रिक नीतिले बैंक र बिमा कम्पनीको सम्बन्ध टाढिने, यसरी गुमाउँदैछन् बैंकहरुले करोडौं कमिसन

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
bank-insurance.jpg

काठमाडौं । मौद्रिक नीतिमा गरिएको बीमा सम्बन्धी व्यवस्थाका कारण बैंक र बीमा कम्पनीहरुको सम्बन्ध टाढिने भएको छ । बुधबार मौद्रिक नीतिमा समेटिएको एक व्यवस्थाले कमिसनको लागि होस् या त एउटै ग्रुपका बीमा कम्पनीहरुको उत्थानको लागि गर्ने सहकार्यलाई टाढा गराउने गरी व्यवस्था गरिएको हो । 

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने उल्लेख गरेको छ । यो व्यवस्थासँगै बैंकले ऋणीलाई कर्जाको सुरक्षण स्वरुप गराउने गरेको बीमा निश्चित कम्पनीबाट मात्रै गर्न बाध्य पार्न सक्दैन । यो व्यवस्थासँगै कुनैपनि ऋणीले आफ्नो ऋणको सुरक्षाको लागि बैंकले भनेको नभई आफूलाई मन लागेको बीमा कम्पनीमा बीमा गराउन सक्नेछन् । 

त्यस्तै, मौद्रिक नीतिमा कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गर्ने भनिएको छ । यसको अर्थ कुनैपनि बैंकले जीवनबीमा लगायत कर्जासँग प्रत्यक्ष सरोकार नै नरहेको विषयमा समेत बैंकबाटै बीमा गर्न बैंकहरुलाई रोक लगाईने छ । आफ्नै ग्रुपको बीमा कम्पनीसँग वा अन्य बीमा कम्पनीसँग पनि कमिसनको लागि सम्झौता गरी बीमा पोलिसी बेचे बापत करोडौं रुपैयाँ कमाईरहेका बैंकहरुलाई यो नीतिले धक्का दिने देखिन्छ । यस्तो स्वार्थ समूहलाई छुट्टाउनको लागि बैंकहरुले कर्जासँग प्रत्यक्ष सम्बन्ध नभएको बीमा पोलिसी विक्री गर्न नपाउने व्यवस्था गरेको हो ।

जीवन बीमा जस्ता कर्जासँग असम्बन्धित विषयमा ग्राहकहरुलाई अरबौं रुपैयाँको पोलिसी बेचेका बैंकहरुले बीमा कम्पनीलाई समेत सहज गराईदिएका थिए । अब यो नीतिसँगै बीमा कम्पनीहरुले समेत आफ्नो शाखा विस्तारतर्फ ध्यान दिनुपर्ने हुन्छ । यस्तो हुँदा बीमा क्षेत्रमा थप नयाँ रोजगारीको सिर्जना समेत हुने देखिन्छ । तर, बैंकहरुले कमिसन खाएर होस् या आफ्नै ग्रुपको बीमा कम्पनीको उत्थानको लागि बेच्दै आएका बैंकहरुको कमिसनमा भने ठूलै धक्का पर्ने देखिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ