arrow

टी–२० क्रिकेटमा कुबेतविरुद्ध नेपालको शानदार जित 

पारसको अर्धशतक 

logo
प्रकाशित २०७६ साउन ११ शनिबार
nepali-cricket1.jpg

काठमाडौं । पारस खड्काको कप्तानी इनिङमा नेपालले कुबेतलाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सहजै ७ विकेटले पराजित गरेको छ । 

शनिवार भएको खेलमा परसले ४२ बलको सामना गर्दै ११ चौका र एक छक्काको सहयोगमा ६८ रन बनाए । उनी यो प्रतियोगितामा एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । 

नेपालले कुबेतले दिएको १ सय ४२ रनको लक्ष्य १५ ओभर ५ बल खेल्दै पूरा गरेको हो । नेपालका लागि शरद भेषवाकरले अविजित ३८ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले १९ रन बनाए । रोहित पौडेल ६ रनमा अविजित रहे । 

पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो ।  कुबेतका कप्तान मोहम्मद खासिफले अविजित ४९ रन बनाएका थिए ।  

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिएका थिए । यस्तै, करण केसीले २ तथा अभिनाश बोहराले १ विकेट लिएका थिए । जितसँगै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनालाई नेपालले जिवितै राखेको छ । 

पाँच टिम सहभागी प्रतियोगितामा ३ खेलबाट ५ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ । 

नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो, कुबेत ४ खेलबाट ३ अंकसहित तेस्रो, मलेसिया ३ खेलबाट २ अंकसहित चौथो र कतार ३ खेलबाट २ अंकसहित पाँचौं स्थानमा छ । 
शीर्ष स्थानमा रहने टिममात्र अर्को चरणमा पुग्ने भएकाले नेपालले आइतवार हुने अन्तिम खेलमा सिंगापुरलाई पराजित गर्नुपर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ