arrow

जोन्सनको उदय र बेलायतको भविष्य

logo
प्रकाशित २०७६ साउन ११ शनिबार
boris-johnson-pm-UK.jpg

काठमाडौं। बेलायतमा भर्खरै बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बनेका छन्। जोन्सन प्रधानमन्त्री बनेसँगै अहिले विश्वको ध्यान बेलायतमा खिचिएको छ। अहिले बेलायत पनि निकै महत्वपूर्ण अवस्थामा छ। 

जोन्सनका लागि बेलायतलाई सफलतापूर्वक ईयूबाट अलग (ब्रेक्जिट) गराउनु रहेको छ। ब्रेक्जिटका लागि तयार पारिएको सम्झौता संसद्बाट पारित गराउन नसकेसँगै थेरेसा मेले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेकी छिन्। यससँगै बेलायतको सत्ताधारी कन्जर्भेटिभ पार्टीको नेताको लागि भएको चुनावमा बोरिस जोन्सन विजयी भएपछि उनी बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको थियो। 

राजनीतिको नयाँ संस्कार
जोन्सन आफ्नो अनौठो स्वभाव तथा अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गरेका छन्। मेको कार्यकालमा उनी विदेशमन्त्री थिए। पछि, ब्रेक्जिटको विषयमा चित्त नबुझेपछि उनले राजीनामा दिए र उनको स्थानमा जेरेमी हन्ट विदेशमन्त्री भएका हुन्। जोन्सनले परम्परागत राजनीतिलाई चुनौती दिँदै अघि बढेका छन्। पत्रकार, सांसद, मेयरदेखि विदेशमन्त्री हुँदै उनले हाल प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका हुन्। उनका समर्थक उनी मानिसहरुसँग घुलमिल हुन धेरै रुचाउने गरेको बताउँछन्।

त्यस्तै, उनी निकै चतुर हुनुका साथै मेहनती पनि छन्। उनी जुझारु स्वभावको रहेको र उनलाई नाइ भन्ने सुन्न पटक्कै मन नपर्ने पनि समर्थकहरु बताउँछन्। तर, ५५ वर्षीय जोन्सनको निजी तथा राजनीतिक जीवन निकै उतारचढावबीच व्यतीत भएको छ। आफ्नो अफेयर लुकाएकै कारण उनले सांसद पदसमेत छोड्नुपरेको थियो। जोन्सन जस्तै परिस्थितिलाई पनि आफ्नो पक्षमा ढाल्न सक्ने कन्जर्भेटिभ पार्टीका कतिपय सदस्यको मान्यता छ। ब्रेक्जिट क्याम्पेनको बेला पनि उनको सभामा निकै भीड जम्मा हुन्थ्यो।

व्यक्तिगत जीवन
जोन्सन बेलाबेलामा व्यक्तिगत जीवनको कारण पनि चर्चामा आउने गरेका छन्। गतवर्ष मात्रै उनी आफ्ना पत्नीसँग छुट्टिएका थिए। बोरिसको व्यक्तिगत जीवन निकै विवादास्पद छ। उनी अफेयरका कारण पनि बेलाबेला विवादमा आइरहन्छन्। उनका दुई पत्नीबाट जम्मा ४ सन्तान भएका छन्। सन् २००९ ताका मेयरको पदमा रहँदा जोन्सनको हेलेन म्याकिन्टायर नामकी प्रोपर्टी डेभलपरकी पत्नीसँग अफेयर रहेको बताइन्छ। त्यसको करीब एक वर्षपछि हेलेनले स्टिफनी नामकी छोरीलाई जन्म दिएकी थिइन्। हेलेनले उनीहरुको सन्तानलाई गोप्य राख्न चाहेकी थिइन्। त्यस्तै, उनीहरुबारे छापिने समाचार रोक्न उनले कानूनको समेत सहायता लिन प्रयास गरेकी थिइन्। तथापि, न्यायाधीशले बोरिसकी छोरीबारे थाहा पाउनु नागरिकको अधिकार रहेको निर्णय दिएका थिए।

त्यस्तै, त्योभन्दा अघि पनि उनी पेट्रोनेल्ला वाटसँग करीब ४ वर्ष अफेयरमा रहेको र उनी दुईपटक गर्भवती भएको विभिन्न सञ्चारमाध्यमले समाचार छापेका छन्। त्यस बेला जोन्सन द स्पेक्टरका सम्पादक थिए। दुवैपटक नै गर्भपतन गरिएको थियो। सन् २००४ मा मिचेल होवार्डको संसद्लाई अफेयरबारे लुकाएको भनी जोन्सनलाई पार्टीबाटै निष्कासन समेत गरिएको थियो। त्यसैगरी, उनी पत्रकार एन्ना फजाक्कर्लेसँग पनि अफेयरमा रहेको बताइन्छ।

ट्रम्पसँग निकट
जोन्सन महिलाविरोधी नेता पनि भनिन्छ। एकपटक उनले बुर्का लगाएको महिला लेटरबक्स जस्तो लाग्छ भनी धारणा व्यक्त गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत भ्रमणका क्रममा जुन पहिलो सातामा नै जोन्सनलाई आफ्नो मित्रको संज्ञा दिँदै प्रधानमन्त्रीमा उनले राम्रो काम गर्ने बताएका थिए। त्यस्तै, बेलायत युरोपबाट बाहिरिए अमेरिका र बेलायतबीचको सम्बन्ध अझै प्रगाढ बनाउने पनि ट्रम्पले बताएका छन्। 

यता जोन्सन भने कुनै पनि हालतमा ब्रेक्जिट गर्ने पक्षमा छन्। त्यसैले पनि दुई भिन्न देशका दुई प्रमुख नेता ट्रम्प र जोन्सनको विचार तथा अनुदारवादी नीति तथा स्वभाव निकै मिल्ने धेरैको आकलन छ। दुवैलाई लैंगिक तथा जातीय विभेद गरेको भनेर पनि बेलाबेला आरोप लाग्ने गरेको छ। विवादास्पद अभिव्यक्तिदेखि हेयरस्टाइलसम्म दुईबीच निकै समानता छ। दुवै जना सार्वजनिक स्थलमा पनि नमिलाइएको पहेंलो कपालमा नै पुग्ने गर्दछन्।

त्यस्तै बोरिस आफ्नो व्यंग्यात्मक भाषणका लागि पनि चर्चित छन्। उनले युरोपबाट छुट्टिने विषयमा बेलायतको प्रतिनिधित्व पनि गरेका छन्। सन् २००४ मा उनी पत्रकार रहेको बेला आफ्नो लेखका लागि उनले लिभरपुलका जनतासँग माफी पनि माग्नुपरेको थियो। उनी राम्रा कवि पनि हुन्। उनले सन् २०१८ मा कविता प्रतियोगितामा विजयी भएर उनले एक हजार पाउन्ड पनि कमाएका थिए। 

बेलायतको भविष्य
जोन्सनको कार्यकालले बेलायतलाई नयाँ दिशा दिने निश्चित छ। ब्रेक्जिटको पक्षमा बेलायतमा मतदान भएपछि जोन्सन तेस्रा प्रधानमन्त्री हुन्। उनले कस्तो किसिमको ब्रेक्जिट गराउँछन् भन्नेमा बेलायतको भविष्य निर्भर हुनेछ। जोन्सन कुनै पनि अवस्थामा अक्टोबर ३१ मा ब्रेक्जिट गराउने पक्षमा छन्। यस्तोमा विना कुनै सम्झौता ब्रेक्जिट हुने सम्भावना बढी छ। विना कुनै सम्भावना ब्रेक्जिट भए आर्थिक हिसाबमा बेलायतले त्यसबाट ठूलो नोक्सानीको सामना गर्नुपर्ने विश्लेषकहरुले बताउँदै आएका छन्। बेलायतलाई आर्थिक समस्या नपर्ने गरी ब्रेक्जिट गराउनु जोन्सनको लागि ठूलो चुनौतीको रुपमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ