काठमाडौं । काठमाडौं उपत्यकामा साँझ भीषण हुरी चल्दा जनजीवन अस्तव्यस्त भएको छ । काठमाडौंमा साँझ प्रति सेकेन्ड ३० मिटर (७१ किलोमिटर प्रतिघण्टा)को गतीमा हुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्हरुले काठमाडौंमा पानी पर्न थालेको भएपनि सानो प्रणाली विकसित भएकाले धेरै पानी पर्ने सम्भावना नरहेको बताएका छन् । काठमाडौंमा ५ देखि १० मिलिमिटरको बीचमा वर्षा हुने अनुमान छ ।
रातिनै मौसममा सुधार आउने बताइएको छ । हावा लागेर पानी परेकाले एक साता देखिको तुँवालोको समस्या हट्ने मौसमविद्हरुको भनाई छ । यस्तै, देशको पश्चिमी भेगमा सामान्य वदली रहेपनि पूर्वाञ्चलमा भने वर्षा भएको छ । गएको २४ घण्टामा पूर्वाञ्चलको धनकुटामा २० मिलिमिटर वर्षा भएको छ । पश्चिमको पोखरामा भने ० दशमलव ९ मिलिमिटर वर्षा भयो ।