arrow

सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
plane-crash3.jpg

रावलपिन्डी, पाकिस्तान ।  पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो ।
 
सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताएका छन्  ।

राजधानी इस्लामाबादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए।

एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताएका छन् ।

विमानमा सवार कतिपयले सहयोगका लागि चिच्चाएका र उनीहरुको सहयोगको प्रयास गरिएको तर सम्भव नभएको सदिकले बताए। उनका अनुसार सो दुर्घटनामा एकै परिवारका सात जनाको ज्यान गएको छ ।

सेनाको सूचना शाखाका अनुसार यो सैनिक विमान नियमित प्रशिक्षणमा रहेको थियो । उद्धारकर्मीहरूले  आगलागी नियन्त्रणमा लिई घाइतेलाई स्थानीय अस्पतालमा पुर्‍याएका थिए ।

यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारजनप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ