बैंकको शाखा नै नपुगेको देशको एकमात्र नगरपालिका, जिम्मा थियो एनआईसी एशियाको
प्रकाशित २०७६ साउन १४ मंगलबार
339
Shares
काठमाडौं । झट्ट सुन्दा नगरपालिका भन्ने वित्तिकै सुविधासम्पन्न र सबै सेवाहरु सजिलै पाउने ठाउँ भन्ने लाग्छ । तर, देशमा एउटैमात्र यस्तो नगरपालिका छ जहाँ अरु सुविधाको कुरा त परको कुरा एउटा पनि बैंकको शाखा समेत पुगेको छैन । त्यो नगरपालिका र त्यहाँका प्रतिनिधिको कमजोरीले पनि होईन । यो त केन्द्रको नीति र बैंकको कमजोरीले गर्दा देखिएको समस्या हो ।
सबै स्थानीय तहमा सिंहदरबारको अवधारणा अनुसार केन्द्रका धेरै अधिकारहरु स्थानीय तहमा पठाईएको छ । सेवाग्राहीले पाउने सेवाहरुहरु स्थानीय तहबाटै दिईने भनेपनि नगरपालिकाका सेवाग्राहीहरुले बैंकको सेवा समेत पाउन सकेका छैनन् । सरकारको हरेक स्थानीय तहमा एउटा बैंकको शाखा अनिवार्र्य पुर्याउने योजना भएपनि कूल २० गाउँपालिका र एउटा नगरपालिकामा बैंकको शाखा पुगेको छैन ।
धनुषाको धनुषाधाम नगरपालिकामा कूल ४५ हजार जनसंख्या रहेका छन् । पूर्वपश्चिम राजमार्गलाई समेत छुने यो नगरपालिकामा बैंकको शाखा खोल्ने जिम्मा एनआईसी एशियाले पाएको थियो । नगरपालिकाका प्रमुख वालेश्वर मण्डलले अन्य बैंकहरुले पनि शाखा खोल्नको लागि प्रस्तावनापत्र पठाएको भएपनि केन्द्रले एनआईसी एशियालाई शाखा खोल्नको लागि जिम्मा दिएकोले अरुको प्रस्ताव स्वीकृत नगरेको बताए । तर, एनआईसी एशियाले शाखा खोल्न कुनैपनि सक्रियता नदेखाएको आरोप समेत लगाएका छन् । पर्याप्त शहरी क्षेत्र भएपनि त्यहाँ बैंकले शाखा खोल्न नमानेको हो । यस विषयमा कुरा गर्न खोज्दा एनआईसी एशियाका सम्बधित व्यक्तिहरुसँग सम्पर्क हुन सकेन ।
अर्काे तर्फ राजधानीसँग जोडिएकै जिल्लाका दुई गाउँपालिकामा पनि बैंक पुगेको छैन । मंगलबार नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार देशभरका कूल २१ स्थानीय तहमा बैंक पुग्न बाँकी छ । त्यसमध्ये २ स्थानीय तह त राजधानी काठमाडौंसँग जोडिएको जिल्ला धादिङमा मात्रै रहेको छ ।
राष्ट्र बैंकका अनुसार धादिङका दुई गाउँपालिकाहरु रुबिभ्याली र नेत्रावती गाउँपालिकामा अहिलेसम्म बैंकको शाखा पुग्न सकेको छैन । यसबाहेक ताप्लेजुङ जिल्लाको एक गाउँपालिका, पर्साको एक, धनुषाको एक नगरपालिक रहेका छन् । बैंकको शाखा नपुगेका गाउँपालिका र नगरपालिकाहरु निम्नानुसार रहेका छन् ।