अर्थ समितिका सभापति भन्छन्, 'बाफिया संशोधनमा बैंकर र व्यवसायी छुट्टाएरै छाडिन्छ'
प्रकाशित २०७६ साउन १६ बिहिबार
381
Shares
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को संशोधनमा बैंकर र व्यवसायीलाई छुट्टाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा सभापति दाहालले बैंकर र व्यवसायीहरु एकै व्यक्ति भएसम्म हामीले प्रगति गर्न नसक्ने दाबी गरे ।
उनले ऋण दिनेले व्यवसाय गर्न नहुने भन्दै कानूनी रुपमा संसदले यसमा सहयोग गर्ने र नीतिगत रुपमा राष्ट्र बैंकले पनि यसमा कडाई गर्नुपर्नेमा जोड दिएका छन् । उनले व्यवसाय गर्नेले आफ्नै बैंकबाट नलिएपनि मिलेमतोमा अर्को बैंकहरुबाट ऋण लिने परिपार्टीले हामीहरुको प्रगति हुन नसक्ने भन्दै अब संशोधन हुने बाफिया ऐनमा बैंकर र व्यवसायीलाई छुट्टाएरै छाडिने बताएका हुन् ।
यस अघि नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत् नै बैंकर र व्यवसायीलाई भिन्न गर्ने किसिमको नीति अवलम्बन गर्ने बताएका थिए । तीन वर्ष अघि बाफिया ऐनको संशोधनको क्रममा पनि यस विषयमा निकै विवाद र बहसहरु चलेका थिए । तर, त्यतिबेला तीब्र दबाबका कारण बैंकर र व्यवसायीहरुलाई छुट्टाउने गरी ऐन तयार पार्न सकिएको थिएन ।
त्यसो त यस अघिका गभर्नर एवं अर्थमन्त्री युवराज खतिवडाको गभर्नरको समयमा पनि यस्ता बहसहरु आएका थिए । तर, त्यतिबेलादेखि अहिलेसम्म पटक पटकको प्रयासमा पनि बैंकर र व्यवसायीहरु छुट्टाउन सकिएको छैन ।
अहिले बाफिया ऐन पनि संशोधनको तयारीमा छ । पहिले पहिले जस्तै यस पटकपनि मन्त्रिपरिषद्मा लैजाने समयसम्ममा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव गरिएको छ । मन्त्रिपरिषद्बाट यो प्रस्ताव परिवर्तन नगरेको खण्डमा संसदको सम्बन्धित अर्थ समितिका सभापतिले जसरी पनि यो छुट्याएरै छाड्ने बताएकोले अब संशोधन हुने बाफियामा बैंकर र व्यवसायी भिन्न हुने आशा गर्ने ठाउँमा देखिएको छ ।