पाँचथर । लाखौँ युवा विदेशिएका छन् । स्वदेशमा बेरोजगारी समस्याले युवा विदेशिन बाध्य छन् । वैदेशिक रोजगारीबाटै मुलुकमा वर्षेनी अर्बौं रेमिट्यान्स भित्रिने गरेको छ । झण्डै १७ सय युवा प्रतिदिन रोजगारीका लागि नेपाल छोड्ने गरेको सरकारी तथ्याङ्क छ । बाहिरिएका केही नेपालीहरु आफैँ उद्यमी पनि बनेका छन् । जसमध्ये कतिपयले कमाएको रुपैंया नेपालमा पठाई परोपकारमा समेत लगाएका छन् । विदेशमा पसिना बगाएको पारिश्रमिकले गाउँको विकास देख्ने मध्येका एक हुन् भारपाका श्रीप्रसाद यवा ।
पाँचथर भारपा–५, स्थायी घर भई साउदी अरेवियामा ‘अन्नपूर्ण गेष्टहाउस’ सञ्चालन गर्ने यवाले आफ्नै लगानीमा आफ्नै गाँउमा ३ किलोमिटर बढी मोटरबाटो निर्माण गरेर परोपरकारी कार्य गरेका छन् । २ दशक बढी समय गाँउको प्रधान पञ्च चलाएका स्थानीय होमप्रसाद यवाका नाती श्रीप्रसादले मेची राजमार्गको डोपकिले नजिकैदेखि आफुले अध्ययन गरेको मानेडाँडा निम्न माध्यमिक विद्यालय सम्म ३ किलोमिटर भन्दा बढी मोटरबाटो आफ्नै लगानीमा निर्माण गरेका हुन् ।
१० वर्ष अघिदेखि साउदी अरेवियामा रहेका श्रीप्रसादले काइला हजुबा नरेन्द्र प्रसाद यवा लगायतको आग्रहमा झण्डै १५ लाख रुपैँया लगानी गरी ३ किलोमिटर मोटरबाटो निर्माण गर्न सहयोग गरेका हुन् ।‘हाम्रो पीछडिएको क्षेत्रमा स्थानीय युवाले नीजि लगानीमा मोटरबाटो खन्दा हामी खुसप् नहुने कुरै रहेन् नी ? ’ मोटरबाटो निर्माण सम्पन्न भएपछि स्थानीय यादव पौडेलले भने ‘तीन किलोमिटर बाटो व्यक्तिगत लगानीमा निर्माण गर्नु सामान्य कुरा होइन ।’
बाटो निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् र उनीहरुले श्रीप्रसादलाई धन्यवाद दिएका छन् । ‘सबै स्थानीयलाई सुविधा पुग्ने गरी नातीले मोटरबाटो खन्दा खुसी लाग्नु स्वाभाविकै हो’ श्रीप्रसादका हजुरबुवा होमप्रसादले भने, ‘सबै गाँउलेले यो हाम्रो पनि बाटो हो र हाम्रो पनि योजना हो भनेका छन् ।’
बाटो निर्माणमा अगुवाई गरेका श्रीप्रसादका काइला हजुरबा नरेन्द्रकुमारले आफुहरुले तीनवर्ष अघिबाटै मोटरबाटो निर्माणका लागि विदेशमा रहेका युवाहरुलाई आग्रह गर्दै आएको र पछिल्लो पटक श्रीप्रसाद एक्लैले मोटरबाटो निर्माण गरेर सवैलाई खुसी बनाएको बताए । ‘विद्यालय सम्म कहिल्यै बाटो नपुग्ने भयो भनेर हामी चिन्तित थियौँ’ नरेन्द्रप्रसादले भने ‘नातिले लाखौँ खर्चेर मोटरबाटो खनि दियो, हामी सबै खुसि छौँ ।’