arrow

'प्रधानमन्त्रीलाई धेरै धेरै धन्यवाद' लेखेकी स्वराजलाई मोदीले दिए शोक सन्देश

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
modi12.jpg

नयाँ दिल्ली ।  प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्री सुष्मा स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।”

राष्ट्रपति राम नाथ कोविंद, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस नेता राहुल गान्धी, समाजवादी पार्टीका संरक्षक मुलायम सिंह यादव, बहुजन समाज पार्टीका प्रमुख मायावती र लोकसभा अध्यक्ष ओम बिड़लाले स्वराजलाई श्रद्धाञ्जली दिएका छन् ।

भारतको पूर्व विदेश मन्त्री समेत रहेको  स्वराजको मङ्गलबार राति निधन भएको थियो । उनि ६७ बर्षको थिइन् । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्‍याएका थिए । उनले मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेको बताइएको छ ।

स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् ।  “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छन् ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिइन् । उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्र्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।

विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो ।
 
उनको पार्थिव शरीर बुधबार दिउँसो १२ देखि ३ बजेसम्म मुख्यालयमा राखिने भाजपाले जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ