arrow

सुविसु आगलागी: डिजेलमा आगो सल्किँदा ठूलो क्षति

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार
subishu-fire.jpg

काठमाडौं। कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रालिमा ठूलो क्षति भएको छ ।

काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा आज दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको र पछि कार्यालय प्रयोजनका लागि ट्याङ्कीमा राखिएको दुई हजार लिटरभन्दा बढी डिजेलमा आगो सल्किएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवत्ता प्रहरी नायब उपरीक्षक होबीन्द्र बोगटीले जानकारी दिए ।

बोगटीले भने, “पानी छ्याप्ने पाँच वटा दमकल प्रयोग हुँदा निभाउन नसकेपछि फेरि धुवाँ फ्याँक्ने दुई वटा दमकल ल्याएर आगो निभाउनुपर्‍यो, डिजेलमा आगो लाग्दा ठूलो क्षति हुन पुग्यो ।”

सय करोडको इन्सुरेन्स गरेको सुविसुको कार्यालयमा दिउँसो १२:३० बजे आगो लागेको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहिएर आलो लागेको प्रहरीले जनाएको छ । शुरुमा जेनेरेटर राख्ने कोठाबाट सल्किएको आगो सञ्चित गरेर राखिएको डिजेल ट्याङकीमा पुगेपछि ठूलो रुप लिएको प्रालिका उपाध्यक्ष विजयलाल श्रेष्ठले बताए ।

“जब डिजेल ट्याङ्की ब्लाष्ट भयो, त्यसपछि आगो अनियन्त्रित भयो, श्रेष्ठले घटनाबारे भने । महँगा राउटर, उच्च प्रोसेसरसहितको सर्वर, एमपिएस राउटर, उच्च क्षमताको डिभाइस नष्ट भएको श्रेष्ठले जानकारी दिए । उक्त कम्पनीले इन्टरनेट सेवाका साथै डाटा ट्रान्सफर गर्ने प्रविधि इन्ट्रानेट, विभिन्न कम्पनीका लागि होस्टिङ सेवा र केवल टेलिभिजन सेवा ‘क्लियर टिभी’ उपलब्ध गराउँदै आएको छ ।

श्रेष्ठले कम्पनीको तर्फबाट आन्तरिक तथा इन्सुरेन्स कम्पनी र प्रहरीले छुट्टाछुट्टै रुपमा घटनाको अनुसन्धान गरिरहेको छ । इन्सुरेन्स मात्रै रु एक अर्बको  गरिएकाले यति नै क्षति भयो भनेर भन्न सकिने अबस्था नरहेको कम्पनीले जनाएको छ ।

उपकरण कुन बिग्रिएको छ, कुन छैन भनेर हेरेपछि मात्रै क्षतिको विवरण भन्न सकिने जनाइएको छ । आगो निभाउन प्रयोग भएको पानीको फोहरालेसमेत डिभाइस सर्ट हुनसक्ने भएकाले भ्याकुम लगाएर तानेपछि उपकरणको परीक्षण गरेर ठीक भए नभएको हेरिने श्रेष्ठले बताए ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले काठमाडौँमा यति ठूलो आगलागी पहिलोपटक देखेको बताए । “आगोको मुस्लो नै ५० फिटमाथि देखिन्थ्यो, डिजेलका कारणले ठूलो क्षति भएको छ, उनले भने । दिउँसो १२:३० मा लागेको आयो २:०० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ