बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’

हरि बाँस्तोला, प्रकाशित मिति : २०७६ श्रावण २५ शनिबार
तस्बिर : रासस

बेलका (उदयपुर)। सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ। अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ। उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडितलाई एकातर्फ बिहान बेलुका हातमुख जोर्न धौधौ छ भने अर्कातर्फ ‘उ त्यहीँ थियो मेरो खेत भनेर’ बगरमा परिणत र डुबेको क्षेत्र देखाउनु दैनिकी जस्तै बनेको छ।

राहत उद्धारका साथै सहयोग गर्ने भन्दै पुग्ने जो कोहीलाई यिनै पीडा व्यथा भन्नु, धेर थोर जे सहयोग पाइन्छ त्यो स्वीकार्दै अन्य सहयोगीको आशामा रहँदै यहाँका स्थानीयवासीले जीवनयापन गरिरहेका छन्।
  
“के गर्नु दुःख जिलो गरेर रोपाइँ पनि गरिसकेका थियौं, रोपो हरियो बन्दै थियो एकाएक आएको बाढीले हाम्रो खेत डुवायो नै, घरमा साँचेर राखेको भकारीको अन्नपात पनि डुबेर कुहियो”, धाराखोलाकी मीरा तामाङले भावुक बन्दै दुःखेसो सुनाए।

खाइनखाई दुःखका साथ बनाएको नयाँ घरको पहिलो तला डुब्यो भने १६ कट्ठा खेतमा लगाएको धान खेत तालमा परिणत भएको बताए। ४० मुरी धान उत्पादन हुने खेत डुबानमा परेपछि छ जना छोराछोरीसहित आठ जनाको परिवार एक एक वर्षसम्म के खाएर बाँच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको तामाङले बताए।

उनी जस्तै यतिखेर यहाँका स्थानीय बाढीले पारेको क्षति सम्झँदा पनि भक्कानो छुटेर आउने बताउँछन्। अर्की ५६ वर्षीया एकल महिला जनममाया भट्टराईले आफूले नेपाल रेडक्रस सोसाइटीको २५ हजार रुपैयाको आर्थिक सहयोगमा सञ्चालन गरेको बेकरी उद्योगसहित घर पुरिएपछि समस्या थपिएको बताइन्।

स्थानीय टीकाकुमारी कोइराला सुवेदीका अनुसार माथिल्लो भेगबाट अचानक आएको बाढीले घर र गोठ डुबाउँदा सञ्चित अन्न, लत्ताकपडा, भाडावर्तनलगायतका सम्पूर्ण सामग्री नष्ट हुनुको साथै गोठमा रहेको दुई वटा बाख्रा बगाएको बताइन्। बाँचेका  बस्तुभाउ खुल्ला आकाशमुनी बाटोमा बाँध्न बाध्य भएको उनको भनाइ थियो। उनले बनिन्, “बाढीकै कारण जुकाका साथै सर्पको बिगबिगी भएकोले कसरी रातदिन विताउने भन्ने भएको छ।”

सो वडाको पथहरा र धारा खोला क्षेत्रको कूल एक हजार विगाहा भन्दा बढी धानखेत डुवानका साथै बाढीले ल्याएको बालुवाले पुरेर मरुभूमिमा परिणत भएको छ। त्यस्तै २४ घर बस्नै नहुने गरी क्षति पुगेको धाराखोला टोल विकास संस्थाका अध्यक्ष कृष्ण काफ्ले जानकारी दिए। उनका अनुसार असार १९ देखि २५ गतेसम्म लगातार वस्तीमा एकातर्फ सप्तकोशी र अर्कोतर्फ त्रियुगा नदीको बाढी पसेका कारण एक हजार ३०० सय घर प्रभावित भएको थियो। साथै करोडौं रुपैयाको क्षति पुगेको छ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार बस्ती विकाससँगै खोलाको निकासमा अवरोध भएपछि बाढी बस्तीतर्फ प्रवेश गर्दा ठूलो क्षति हुने गरेको बताए। त्यसको निकासका लागि स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो। 
 
बस्तीको माथिल्लो भागमा रहेका विभिन्न नौ वटा खहरे खोलालाई एकिकृत गरी सप्तकोशी र त्रियुगा नदीमा स्थायी निकास निर्माण गरी वस्ती र उर्वरभूमिको संरक्षणका लागि नगरपालिकाले सात अर्बको गुरुयोजना तयार पारेको छ। उनले त्यसका लागि प्रदेश र सङ्घीय सरकार समक्ष आर्थिक सहयोगको माग गरिएको जानकारी दिए।

बाढीपीडितका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्दै आएको छ। नगरप्रमुख थापाले सो क्षेत्रका वासिन्दालाई  विभिन्न रोगको प्रकोप र सर्पदंशबाट  जोगाउन चुनौति रहेको बताए। बाढी क्षेत्रमा हालसम्म २४ जनालाई सर्पले टोकेको नगरपालिकामा जानकारी आएको छ। बाढीका कारण दुःखमा परेका पीडितलाई केही हदसम्म भए पनि मलम लगाउने उद्देश्यका साथ पोखराबाट राहत सामाग्री लिएर पुगेको एक टोलीले एक सय ५० घरपरिवारलाई तीन लाख मूल्य बरावरको विभिन्न सामाग्री वितरण गरेको संस्थाका निर्देशक गोमा ढकालले जानकारी दिए।

उनका अनुसार पोखरास्थित विभिन्न संस्था एवं व्यक्तिबाट सङ्कलन गरिएको म्याटे«स, ब्ल्याङ्केट, झुल, तयारी कपडा, पानी शुद्धिकरण गरिने औषधिलगायत सरसफाइका सामग्री वितरण गरिएको थियो। बाढीपीडित क्षेत्रमा समाचारमा आए भन्दा पनि त्यहाँका स्थानीयवासीले दुःख र पीडा पाएको टोलीमा सङ्लग्न संस्थाका उपाध्यक्ष खेम लामिछानेले बताए। भौगोलिक अवस्था समेतले विविधतायुक्त नेपालका ठाउँ ठाउँमा कतै बाढी त कतै पहिरोको समस्या भएको बताउने संस्थाका सचिव नर्मला कँडेल एकआपसमा पीडामा मलम लगाउने भावना प्रत्येक नेपालीमा जाग्नुपर्ने धारणा राखे।

चुरे क्षेत्रमा बढ्दो प्रकृतिको दोहनसँगै वन जङ्गल नासिँदै जानु र तल्लो तटीय क्षेत्रमा बस्ती विकास हुनुले बाढी पहिरोको प्रकोप बढाएको बताउने बेलका काठमाडौँ विकास समाजका अध्यक्ष महेन्द्र थापा प्रत्येक वर्ष देखिने यो समस्याको दीर्घकालीन समाधान तर्फ स्थानीयवासी एवं सरोकारवाला सबैको बेलैमा ध्यान पुग्नुपर्ने धारणा राछन्।

नयाँ