भारतीय काँग्रेसको नयाँ नेतृत्व कसलाई ? घरमा सुनको छानो हुनेलाई कि प्रियंकालाई ?
प्रकाशित २०७६ साउन २५ शनिबार
734
Shares
काठमाडौं । भारतको लोकसभाको चुनावपछि अध्यक्ष विहीन बनेको भारतीय काँग्रेसको नयाँ अध्यक्ष शनिबार चयन हुने सम्भावना देखिएको छ । २५ मे मा बसेको पार्टीको कार्यसमिति बैठकमा राजीनामा दिने घोषणा गरेका राहुल गान्धीले पटक पटकको आग्रहपछि पनि अध्यक्ष बन्न नमानेपछि नयाँ अध्यक्षको खोजी हुन थालेको हो । राहुलले यस अघि नै स्पष्ट भनिसकेका छन् कि काँग्रेसको अध्यक्ष अब गान्धी परिवारबाट हुँदैन ।
यसरी काँग्रेसले अध्यक्षको खोजी गरिरहँदा तमाम नेताहरुमा भने अध्यक्षको लागि आकांक्षा बढेको छ । शनिबार पनि कांग्रेस कार्यसमितिको बैठक जारी छ। अध्यक्ष पदको लागि तमाम नेताहरुको नाम चर्चामा छ । यसमा सम्भावित नामहरु तल उल्लेखित छन् ।
प्रियंका गान्धी
अहिले शशि थरूर, क्याप्टेन अमरिन्दर सिंह, कर्ण सिंह जस्ता काँग्रेसका दिग्गजहरुले राहुलकी दिदी प्रियंका गान्धी वाड्रालाई अध्यक्ष बनाउनको लागि दिलो ज्यान दिएर प्रयास गरिरहेका छन् भने यी सबै नेताहरुको मत प्रियंकालाई काँग्रेसको नेतृत्व दिनुपर्ने भन्नेमा मत छ । कुनै बेला पार्टीको नेतृत्व कुनै गान्धी परिवार बाहिरको युवाहरुलाई दिनुपर्ने भन्दै आएका अमरिंदर सिंहले अहिले आएर फेरि प्रियंकालाई नै अध्यक्ष बनाउन आग्रह गरेका छन् । लोकसभा चुनावको केही समय अघि मात्रै राजनीतिमा प्रवेश गरेकी उनले सोनभद्र नरसंहार मामलामा योगी सरकार विरुद्ध आक्रामक रुपले विरोध गरेपछि उनी चर्चामा आएकी थिईन् । उनलाई पार्टीभित्र उनकी हजुरआमा इन्दिरा जस्ती भनेर पनि चिन्ने गरिन्छ । यद्यपि उनले यो लोकसभा चुनावमा आफ्नै क्षेत्रमा समेत राम्रो नतिजा ल्याउन सकिनन् ।
मुकुल वासनिक
पछिल्लो केही दिनदेखि काँग्रेसको अध्यक्ष पदको लागि मुकुल वासनिकको नाम समेत चर्चामा छ । महाराष्ट्रबाट ४ पटकसम्म सांंसद भईसकेका उनी लो प्रोफाईलमा बसेर चुपचाप काम गर्नेवाला नेता हुन् । विद्यार्थी जीवनदेखि नै काँग्रेस पार्टीमा लागेका उनी पहिलो पटक १९८४ मा सांसद बनेका थिए ।
मल्लिकार्जुन खड्गे
७७ वर्ष पुगिसकेका मल्लिकार्जुन खड्गेको नाम पनि काँग्रेसको अध्यक्षको लागि चर्चामा छ । खड्गे कांग्रेसका दिग्गज दलित चेहरा हुन् । कर्नाटक स्थायी निवासी खड्गे कांग्रेस शासनको समयमा ठूला ठूला पदमा बस्दै आएका व्यक्ति हुन् । रेल र श्रम मन्त्रालयको समेत सम्हालेका उनको नाम लगातार १० पटक विधानसभा चुनाव जितेको रेकर्ड पनि कायम राहेका छन् ।
सिन्धिया र पाइलट
कांग्रेसको युवा चेहरामा शुमार ज्योतिरादित्य सिन्धिया र सचिन पायलटलाई समेत अबको अध्यक्षको रुपमा चर्चा गर्ने गरिएको छ । केही दिन पहिले मात्रै मिलिन्द देवडाले कांग्रेस अध्यक्ष पदको लागि यी दुबै नेताहरुको नाम वकालत गरेका थिए । दुबै युवा नेताहरु हुन् । राहुल गान्धीको दुबै निकटस्थहरु हुन् । यस पटक दुबै जनाले लोकसभाको चुनाव हारेका छन् । सिन्धियाको घरमा सुनको छानो र भित्तामा समेत सुन र चाँदीको लेपन लगाएको छ । यसैबाट उनी धेरै चर्चित छन् । यी दुबै २०१८ मा क्रमशः मध्य प्रदेश र राजस्थानका मुख्यमन्त्री पदका दाबेदार थिए ।
सुशील कुमार शिंदे
महाराष्ट्रका मुख्यमन्त्री र केन्द्रमा गृहमन्त्री भइसकेका ७८ वर्षीय सुशील कुमार शिन्दे पनि काँग्रेस अध्यक्ष पदमा सामेल छन् । उनी महाराष्ट्रमा मुख्यमन्त्री बन्ने पहिलो दलित पनि हुन् ।