भक्तपुर । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले वर्तमान सरकार कछुवाको तालमा अघि बढेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले वर्तमान सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै सरकाले जनताको हितमा काम गर्न नसकेको बताए ।
शर्माले कांग्रेस महाधिवेशन पश्चात सरकार परिवर्तनको विषय हल्ला मात्र भएको बताउँदै वर्तमान सरकालाई नै राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शीर्ष नेताहरु लागि परेको बताए । मधेस अन्दोलनका जायज मागको सम्बोधन नगरे स्थानीय निकायको निर्वाचन असफल हुने भन्दै संघीयता र सीमांकनको विषय टुंगो नलगाएसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको शर्माको धारणा छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा जटिलता देखिएको र विगत देखि नै सरकारले बनाएको योजनामा हुने भागवण्डा र कमिशनको खेलकै कारण हरेक योजना सफल हुन नसकेको भन्दै शर्माले सरकारको ध्यान त्यतातर्फ जानु पर्नेमा जोड दिए ।
भूकम्पले थिल्थिलो पारेका नेपाली लाई हावा हुरीले थप पीडा दिएको र सरकारले केही गर्न नसकेको भन्दै बर्खा लाग्नु अगावै सरकारले भूकम्प पीडितहरुका लागि गास र बासको जोहो गर्नु्पर्नेमा प्रवक्ता शर्माको जोड छ ।
इन्धन र ग्याँस अभावमा सरकारले कालो बजारीयाहरुलाई नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै शर्माले नेपाल आयाल निगम र सरोकारवालाहरुले नै इन्धनको अभाव श्रृजना गरेको र सरकार मुख दर्शक मात्र बनेको बताए । विभिन्न कम्युनिष्टबीचको एकतालाई एमाओवादीले तीव्रता दिएको भन्दै एकता नभए पनि धु्रविकरण भएर सवै अगाडी बढ्ने शर्माको भनाई छ ।