उदारीकरणपछि झनै सशक्त बनेको एक भारतीय सार्वजनिक संस्थानको प्रगतिको राज 

सुदर्शन अर्याल, प्रकाशित मिति : २०७६ श्रावण २८ मंगलबार

बेङ्लुरु । नेपालमा उदारीकरण र निजीकरण अघि सशक्त रुपमा चलिरहेका धेरै सार्वजनिक संस्थानहरु विस्तारै धरासायी बन्दै गएर बन्दै भए । समयको हिसाबले नेपाल र भारतमा सार्वजनिक संस्थानहरुको स्थापना एउटै समयमा भएको थियो । तत्कालीन पञ्चायती शासन कालमा स्थापना भएका नेपालका धेरै सार्वजनिक संस्थानहरु उदारीकरण र निजीकरणसँगै विस्तारै धरासायी बन्दै गए ।

अहिलेसम्म आईपुग्दा केही संस्थानहरु केवल इतिहासमा सीमित भएका छन् । अहिले सञ्चालमा रहेका सार्वजनिक संस्थानहरु पनि जेनतेन चलेको भएपनि माफियाको गिद्दे नजरका कारण धरासायी अवस्थामा रहेका छन् । त्यसैले सार्वजनिक संस्थानहरुको दुखदायी कहानीहरुको कुरा आएलगत्तै निजीकरण र उदारीकरणलाई दोष दिने गरिन्छ । 

नेपालमा धरासायी बनेका सबै सार्वजनिक संस्थानहरुको दोष निजीकरण र उदारीकरणलाई लगाउने गरिएको छ । नेपालमा कुनैपनि मोडालिटी तयार नै नगरी सन् १९८५ अघि दुई कम्पनीहरु चण्डेश्वरी टेक्सटाइल र चिउरी घिउ उद्योगलाई निजीकरण गरियो । पर्याप्त तयारी विना नै गरिएको सो निजीकरणले ती संस्थानहरुलाई विस्तारै अस्वस्थ बनाउँदै लग्यो ।

नेपालमा निजीकरणपछि भृकुटी पल्प एन्ड प्रतिष्ठान मिल्स, हरिसिद्धि इँटा टायल कारखाना, बालाजु कपडा उद्योग, कृषि आयोजना सेवा केन्द्र, हेटौडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना लिमिटेड, कृषि औंजार कारखाना लिमिटेड, विराटनगर जुट मिल्स र हिमाल सिमेन्ट उद्योग लिमिटेड लगायतका उद्योगहरु पूर्ण रुपमा बन्द भए भने धेरै उद्योगहरु अहिलेपनि धरासायी अवस्थामा छन् । यद्यपि पछिल्लो समय यी बन्द भएका उद्योगहरुबाट पाठ सिकेर अघि बढ्दा केही संस्थानहरु फाईदामा पनि छन् । तर, ती संस्थाहरु समय समयमा व्यवस्थापनमा बसेकाहरुको कारण संकटोन्मूख बन्ने गरेको छ । 

तर, निजीकरण र उदारीकरण मार्फत् केही प्रतिशत निजी क्षेत्रलाई हिस्सा दिँदैमा सार्वजनिक संस्थानहरु धरासायी हुन्छन् भन्ने तर्कलाई भने भारतीय सार्वजनिक संस्थानहरुको प्रगतिले आफैं खण्डन गर्ने गरेको छ । निजीकरणबाट पर्ने तत्कालीन तथा दीर्घकालीन असरका बारेमा राम्ररी अध्ययन गरेर यसको व्यवस्थापन गर्दा कम्पनी कसरी सवल र सशक्त बन्दै जान्छ भन्ने उदाहरण भारतको एक सार्वजनिक संस्था भारतीय हेभी इलेक्ट्रोनिक्स लिमिटेडबाट सिक्न सक्दछौं ।

सन् १९६४ सालमा स्थापना भएको भारतीय हेभी इलेक्ट्रोनिक्स लिमिटेड भारतको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सार्वजनिक संस्थान हो । अहिले यसको ६७ प्रतिशत हिस्सा भारत सरकारको र बाँकी हिस्सा निजी क्षेत्रको रहेको छ । वर्षेनी आफ्नो उत्पादन र व्यवसायमा विस्तार गर्दै भारतको आर्थिक विकासमा एउटा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सो संस्थान फोब्र्स पत्रिकाले २०१४ मा सार्वजनिक गरेको बलिया सार्वजनिक संस्थानहरुको सूचीमा भारतको १५ औं स्थानमा परेको कम्पनी हो । 

वार्षिक कूल २ खर्ब ७८ अर्ब रुपैयाँको कारोबार र १५ अर्ब ८५ करोड रुपैयाँभन्दा धेरै मुनाफा मात्रै कमाउने गरेको सो संस्था अहिले भारत सरकारले लिएको ५ ट्रिलियन डलरको अर्थतन्त्र बन्ने लक्ष्य पूर्तिमा समेत सहायक सिद्ध हुने देखिएको छ । जब जब भारतले आर्थिक विकासमा फड्को मार्ने गरी आर्थिक बृद्धिको लक्ष्य लिनेगरेको छ । त्यतिबेला बीएचईएलको भूमिका सधैं महत्वपूर्ण हुने गरेको छ । इलेक्ट्रोनिक्स क्षेत्रमा यो कम्पनीहरुसँगै अन्य क्षेत्रका पनि विभिन्न कम्पनीहरु समेत भारतको आर्थिक विकासका मेरुदण्डहरु हुन् । तर, झण्डै आधा शतक अघिदेखि सञ्चालनमा आएर निजीकरण र उदारीकरणपछि झनै फस्टाएको यो कम्पनीको प्रगति पक्कै पनि लोभलाग्दो रहेको छ । 

विजुली उत्पादन गर्न खोलेको कम्पनीको न्यूक्लियरसम्मको यात्रा
सुरुमा यो कम्पनी भारतमा उद्योगधन्दाको विकासको लागि आवश्यक पर्ने विद्युतहरु उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी हो। योजना आयोगले त्यतिबेला विभिन्न परियोजनाहरुको लागि आवश्यक सबै प्रकारका भारी विद्युतीय उपकरणहरुको निर्माणको लागि यो कारखानाको स्थापना गर्न सिफारिस गरेको थियो । भारत सरकारले पनि सोही सुझाव अनुसारको भारी विद्युत उपकरणहरुको निर्माणको लागि मध्यप्रदेशको राजधानी भोपालमा एक कारखानाको स्थापना गरेको थियो । जसको नाम एसोसिएटेड इलेक्ट्रिकल इन्डस्ट्रिज ९एईआई० राखियो । २९ अगस्ट, १९५६ मा उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गत सार्वजनिक क्षेत्रमा हेवी इलेक्ट्रिकल्स ९इन्डिया० लिमिटेड ९एचई ९आई० एल० को रुपमा कम्पनी दर्ता गरिएको थियो । 

यो कम्पनीले शताब्दीको अन्तसम्ममा १ लाख मेगावाटसम्म बिजुली उत्पादनको लागि देशमा स्थापित क्षमतालाई बढावा दिने संकल्प गरेर काम सुरु गरेको थियो । सोही कम्पनी ७० को दशकसम्म आइपुग्दा देशमा परमाणु ऊर्जा कार्यक्रमलाई समर्थन गर्नको लागि कठिन र अति आवश्यक रहेका आवश्यकताहरुलाई पूरा गर्नको लागि समेत सक्षम बनायो । अहिले पनि कम्पनीले परमाणु उर्जाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाँसिल गर्दै आएको छ । 

८० को दशकमा बजारलाई प्रतिस्पर्धी बनाउने जिम्मा
८० को दशकसम्म आईपुग्दा कम्पनीसामु एउटा ठूलो जिम्मेवारी आईपुग्यो । यो दशकमा विद्युत परियोजनाहरुको लागि संसाधनहरुको कमिका कारण भारतीय कम्पनीहरुलाई विदेशीसँग प्रतिस्पर्धा गर्र्न कठिन हुँदै थियो । त्यतिबेला प्रचुर मात्रामा विद्युतको आवश्यकता परिरहेको थियो । त्यो आवश्यकताको पूर्तिका लागि कम्पनीले आन्तरिक रुपमा उत्पादन र व्यावसायीकरणमा जोड दिएर ग्यास टर्बाइन, लोकोमोटिव र तरल पदार्थ बेड कम्बस्शन बोयलर जस्ता नयाँ सम्भावित विकास क्षेत्रहरुमा प्रवेश गर्यो । 

८० को दशकको मध्यसम्ममा कम्पनीले ५०० मेगावाट थर्मल पावर उपकरणको आपूर्ति शुरू गरेर देशमा एक प्रमुख सार्वजनिक क्षेत्रको संगठनको रुपमा आफैंले आफैंलाई विकास गर्न सफल भयो । जुन पर्यावरणद्वारा उत्पन्न कुनैपनि चुनौतीको सामना गर्नको लागि सक्षम थियो । 

उदारीकरणपछि झनै विकास 
सन् १९९० को दशक उदारीकरण र डब्ल्यूटीओ राजमा व्यापारमा आउने बाधाहरुलाई कम गर्नको लागि कम्पनीले आफ्नो कारोबारको शैलीमा ठूलो भिन्नता ल्यायो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा वृद्धि, प्रमुख उत्पादन इनपुटको निर्माणका लागि घरेलू क्षमता विकसित गर्नु, निर्यातमा जोड दिनु, र नयाँ उत्पादन र व्यापार क्षेत्रहरुको शुरूवात गर्न तर्फ कम्पनीले ध्यान केन्द्रीत गरेको थियो । सन् १९९० को दशकको कर्पोरेट प्लानले कम्पनीलाई सशक्त बनाउन र परियोजना निष्पादन क्षमताहरुलाई पुनर्गठन गर्दै मजबूतीका साथ चुनौतीहरुको सामना गर्न सक्षम बनायो । यही चुनौतीका कारण बीएचएनएल अहिलेसम्म पनि सक्षम सार्वजनिक संस्थानको रुपमा स्थापित छ । 

अहिले यही कम्पनी २१ औं शताब्दीको दोस्रो दशकको अन्त्यसम्म आउँदा अत्याधुनिक प्रविधिहरु सहित उर्जा, ट्रान्समिसन, उद्योग, यातायात, तेल तथा ग्यास, नवीकरणीय उर्जा, पानीको व्यवसाय, सैन्य तथा अन्तरिक्ष, उर्जा संकलन क्षेत्र लगायतमा उत्पादन र व्यवसाय गरिरहेको छ । पछिल्लो समय सरकारी निर्देश अनुसार परमाणु ऊर्जा उत्पादन संयन्त्रहरु, उद्योग र भारतीय रेलवेमा समेत विद्युत स्टेशनको लागि बीएचईएल जनरेटिङ्ग र ट्रान्समिशन उपकरणको आपूर्ति सुनिश्चित गर्नको लागि विभिन्न महत्वपूर्ण कदम उठाईरहेको छ । 

अहिले यो कम्पनीले भारतीय अन्तरिक्ष सम्बन्धी सबै परियोजनाहरुमा आवश्यक पर्ने उर्जाको लागि सोलार प्रविधि मार्फत् बेट्रीमा शक्ति सञ्चय गर्ने प्रविधि तयार पार्ने गरेको छ । केही समय अघि भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ मा पनि प्रयोग भएको बेट्री र सोलार प्रविधि यही कम्पनीको उत्पादन थियो । यसका साथै भारतीय रक्षा संयन्त्र तर्फ भारतीय सेनाका लागि एसआईएम फायर, आईडब्लूईएसएस, र एसएटिएस जस्ता प्रविधिहरुको उत्पादन समेत गर्दै आएको छ ।
 

नयाँ