arrow

‘कांग्रेसलाई मेरो नेतृत्वको सरकारमा आउने मात्रै उपयुक्त बाटो छ’

मधेसी नेतालाई कटाक्ष:‘दुध खान गाई नै पाल्नु पर्दछ, नारा जुलस गरेर दुध खान पाँइदैन’

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
oli-new-FNL.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग आफू नेतृत्वको सरकारमा आउने मात्रै उपयूक्त बाटो भएको जिकिर गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालको १८औं वार्षिक उत्सव, चौथौ महाधिवेशन एवं पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘कांग्रेससँग म नेतृत्वको सरकारमा आउने मात्रै बाटो उपयुक्त हो । त्यो बाहेक अर्को विकल्प अहिले देखिदैन ।’
 
प्रधानमन्त्रीले कांग्रेसलाई इमान जमानमा रहन सुझाव दिँदै विगतमा भएको सहमति तोड्ने जस्तो गल्ती सच्याउनु पर्नेमा जोड दिए । उनले आफूलाई प्रधानमन्त्रीको कुर्सि बस्नकोलागि नचाहिएको स्पष्ट पार्दै भने,‘ मलाई प्रधानमन्त्रीको कुर्सि भारतसँगको सम्बन्ध सच्याउन र चीनसँगको सम्बन्ध नयाँ उचाईमा लैजान चाहिएको थियो । त्यो काम मैले गरेको छु ।’
 
प्रधानमन्त्रीले मुलुकको काम गर्ने संयन्त्र भोली गर्छौ भन्ने खाल्को अल्छि रहेको भन्दै आजैबाट गर्ने सुरु गर्ने गरी आफू अघि बढ्ने र फाइल घुमाएर अल्झ्याउने परिपार्टीको अन्त्य गर्नु पर्ने धारणा राखे । उनले दुध खान गाई नै पाल्नु पर्ने भनाइसहित मधेसीहरुप्रति लक्षित गर्दै नारा जुलस गरेर दुध खान नपाइने स्मरण गराए । ओलीले भने, ‘भावावेशमा होइन अब, देश विकासमा अघि बढ्नु पर्छ ।’
 
प्रधानमन्त्रीले नेपाल भारतकोविरुद्ध हुनै नसक्ने बरु भरपर्दो मित्र भएको उल्लेख गर्दै नेपालले भारतको कहिल्यै पनि अहित नचिताउने स्पष्ट पारे । उनले भने,‘ भारत नेपालको बहुआयामिक र इतिहास अघिदेखिको मित्र राष्ट्र हो । केही असमझदारीहरु थिए । अहिले समाप्त भइसकेको छ । हामी दुबै छिमेकीसँग आत्मीय मैत्री सम्बन्ध राख्छौ । हामी नेपालको हितमा काम गर्छौ, कसैको अहितमा होइन । ’
 
प्रधानमन्त्रीले नेपालका राजनीतिक दल र संविधानसभाले संविधान बन्न नदिने प्रयासलाई अस्वीकार गरेर स्थिती बुझी संविधान बनाएको उल्लेख गर्दै  संविधान बनेसँगै राजनीतिक र समानताको आन्दोलन सकिएकोले अब आर्थिक समृद्धिमा जाने एक मात्रै बाटो रहेको बताए । 
उनले विभेद हटाउन सकिने तर करोडपति र सडकमा मानिस हुँदा सम्म समानता हुन नसक्ने भन्दै अब समानता कसरी हुन्छ भन्नेमा अघि बढ्नु पर्ने बताए । 
 
प्रधानमन्त्रीले ९२ प्रतिशतले संविधान बनाए, तर मैले भनेको मानेनन् भनेको कुरा आफूले नबुझेको उल्लेख गर्दै यति ठूलो प्रक्रियाबाट बनाएको संविधानलाई रातारात र सुटुक्क बनाएको भनि गरेको तर्क आफूले बुझ्न नसकेको तर्क गरे । मधेसवादी दलहरुप्रति लक्षित गरेर प्रधानमन्त्रीले भने,‘ केही मानिसहरु धु्रविकरणको कल्पना गरिरहेका छन् । पहाडे, मधेसी, हिमाली भनेर झ्याली बजाउने प्रयासमा लागेका छन् । जातजाति, भाषा, भाषी नेपालको सून्दरता हो, उनीहरु जात थर र भुगोलकोबीचमा कलह उत्पन्न गर्न खोजिरहेका छन् । यो सफल हुँदैन । नेपालमा अब झ्याम्टा बज्दैन । जनताका अधिकारहरु संस्थागत भइसके ।’
 
उनले दुई वर्षभित्र केरुङ र काठमाडौ सडक दुई लेनको बनाउन वैशाखमा छोटोबाटोबाट टेण्डर गरेर अघि बढाउने, काठमाडौं र पोखराको सडक यस्तो बनाउने कि यो सडक हो भन्ने होस भान हुने जिकिर गरे । प्रधानमन्त्रीले रिपोर्टर्स क्लब नेपालले पहिलादेखि नै राम्रो काम गर्दै आएको र अब पनि अझै राम्रो काम गरोस भन्ने सुभकामना दिदै क्लबका अध्यक्ष ऋषि धमला जसलाई मन नपरे पनि मनपराउन सक्ने क्षमता भएका पत्रकार भएको बताए । 
 
संविधान कार्यान्वयन गर्न सहमतिको विकल्प छैन : समामूख घर्ती 
व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तिले संविधान जारी भएपछि पनि असन्तुष्टीहरु व्यक्त भइरहेकाले अब वार्ता र संवादको बाटोबाट समाधान गरेर अघि बढ्नु पर्ने भन्दै सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको बताइन् । 
 
उनले भनिन,‘ असन्तुष्टी समाधानको बाटो बार्ता र संबाद नै हो । यसलाई समाधान गरेर मुलुक अब समृद्धिमा जानुको विकल्प छैन ।’सभामुखले संविधान नेपालको विकासकोलागि आधारभुत दस्तावेज भएको भन्दै अब यसको सफल कार्यान्वयन गरेर समृद्धिकोलागि सिंगो देश एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिइन् । 
 
अब एउटा पार्टीले बहुमत ल्याएर शासन गर्ने युग समाप्त भइसक्यो : खनाल
नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको सबै समस्या संविधान बमोजिम समाधान गरी राजनीतिक क्रान्ति समाप्त गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जानु पर्ने भन्दै संविधान अनुसार अब एउटा पार्टीले बहुमत ल्याएर शासन गर्ने युग समाप्त भएकोले अब राजनीतिक दलहरुले कोलिसन सरकार गठनको सस्कृतिको विकास गर्नु पर्ने आवश्यकता औँल्याए । 
 
उनले लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन क्लबले सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अब संविधान कार्यान्वयनमा पनि क्लबले त्यस्तो भूमिका खुेल्नु पर्ने सुझाव दिए । 
 
गुट–उपगुट छाडेर विकासको बाटोमा लागौं : बाबुराम
नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम पूर्व प्रधानमन्त्री  बाबुराम भट्टराईले संविधानको अपुर्णता पुरा गरेर भुकम्प र नाकाबन्दीबाट थिल्थिलो पारेको मुलुकलाई आर्थिक विकासको बाटोमा लानु पर्ने आवश्यकता औल्याउँदै अब कसैले पनि गुट उपगुटमा लागेर यसमा अवरोध गर्न नहुने तर्क गरे । 
 
उनले नेपालमा आफूहरुकै कालमा देश समृद्ध हुने विश्वास ब्यक्त गर्दै अब आर्थिक समृद्धि सिंगो देशको एजेण्डा बन्नु पर्नेमा जोड दिए । उनले नयाँ शक्ति मुलुकमा बैकल्पिक धार निर्माण गरेर राजनीतिक विकल्प दिन खडा भएको समेत स्पष्ट पारे । भट्टराईले संविधान जारी गर्न खेले जस्तै यसको सकारात्म विकास गर्न भूमिका खेल्न सकोस भने । 
 



नयाँ