arrow

जनताको अमेरिका पलायन रोक्न मेक्सिको र ग्वाटेमालाबीच छलफल हुदै

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
mexico-lopez.jpg

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरले ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रो जियामाटीसँग चाँडै आप्रवासन र विकासका विषयमा छलफल गरिने बताएका छन् ।

मेक्सिकोका अधिकारीहरुले आप्रवासीका विषयमा एल साल्भाडोर र होन्डुरसका नेताहरुसँग वार्ता गरिसकेका छन् । राष्ट्रपति ओब्राडोरले क्षेत्रीय विकास र मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीका विषयमा मध्य अमेरिकी मुलुकका नेताहरुसँग परामर्श गरिरहेको पनि जानकारी दिए ।

मेक्सिकोको दक्षिण प्रान्त ओक्सानाको भ्रमणका क्रममा राष्ट्रपति ओब्राडोरले उक्त धारणा राखेका हुन् । आगामी जनवरीमा सत्ताको बागडोर सम्हाल्न लागेका ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति जियामाटीलाई ओब्राडोरले ओक्सानामा भेट्ने कार्यक्रम समेत रहेको छ ।

“हामी एल साल्भाडोर र होन्डुरसलाई विकासका कार्यहरुमा मद्दत गरिरहेका छौं र ग्वाटेमालालाई पनि सहयोग गर्नेछौं । म ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपतिलाई एक दुई दिनभित्रै भेट्दैछु,” ओब्राडोरले संवाददाताहरुलाई बताए ।

गरिबीको चपेटामा परेका दक्षिणी मेक्सिको र मध्य अमेरिकी राष्ट्रका जनता पछिल्ला वर्षहरुमा अमेरिकातर्फ पलायन हुनेक्रम बढेको छ ।

राष्ट्रपति ओब्राडोरले भने, “हामीले दक्षिण, दक्षिणपूर्वी मेक्सिको र छिमेकी मुलुकहरुको विकासका लागि गरिबी निवारण कार्यक्रमहरु सञ्चालन गर्न लागेका छौं । जनताले रोजगारी भएको खण्डमा उनीहरु अन्यत्र पलायन हुन पक्कै चाहँदैनन् ।”

ग्वाटेमाला र मेक्सिकोबीच झण्डै ९६३ किलोमिटर सीमा छ । ग्वाटेमालाका लागि मेक्सिको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ