arrow

कार्यालय प्रमुख तर्साउँदै सीडीओ

logo
एलवी मगर।
प्रकाशित २०७२ चैत १८ बिहिबार
rolpa-cdo-letter.jpg.jpeg
रोल्पा। समग्र जिल्लाको शान्ति सुरक्षा तथा कर्मचारीतन्त्रलाई परिचालन गर्ने अविभावकत्व पाएका रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जिल्लामा कार्यरत कर्मचारीहरुलाई परिचालन तथा संरक्षण दिनुको साटो तर्साउन थालेका छन् । यस व्यवहारले रोल्पाका कर्मचारी तथा सर्वसाधारणलाई संकटकालको झझल्को आउन थालेको कर्मचारीहरुको गुनासो आउन थालेको छ। 
 
प्रसंग सोमबार राती ८ बजेको हो। जिल्ला विकास समितिको कार्यालयमा कार्यालय समय बन्द भएका कारण जिल्ला प्रशासन कार्यालय रोल्पाको फ्याक्समा साँझ अबेर आएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट रोल्पाका स्थानीय विकास गेहेन्द्र बहादुर डाँगीको नाममा जारी भएको पत्रलाई बुझाउन प्रमुख जिल्ला अधिकारीले नाटकीय ढंगबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशवबहादुर बस्नेतको कमाण्डमा ४ सदस्यीय टोली रातीको ८ बजे स्थानीय विकास अधिकारीको निवासमा पठाई पत्र बुझाई भरपाई लिन पठाएका थिए। स्थानीय विकास अधिकारीलाई सोही दिन साँझ टेलिफोन मार्फत प्रमुख जिल्ला अधिकारी शर्माले तपाईको नाममा मन्त्रालयबाट पत्र आएको हुँदा पत्र लिन आउन खबर गरेको र आफूलाई सन्चो नभएको र कार्यालय समय समाप्त भएकाले मंगलबार बिहान कार्यालय समयमा उक्त पत्र जिल्ला विकास समितिमा पठाइदिनुहुन वा जिल्ला विकास समितिबाट उक्त पत्र लिनका लागि कर्मचारी पठाउने जानकारी गराउँदा पनि प्रमुख जिल्ला अधिकारीले रातीको समयमा सुरक्षा अधिकृतको कमाण्डमा मन्त्रालयको पत्र बुझाउन जिल्ला प्रशासन कार्यालयको लेटरप्याडमा भरपाई गराई बुझाउन आउँदा आफूलाई आश्चर्य लागेको स्थानीय विकास अधिकारीले बताएका छन्। 
 
स्थानीय विकास अधिकारीका अनुसार मन्त्रालयले आफूलाई अर्को आदेश नभएसम्म यथाशीघ्र मन्त्रालयमा हाजिर हुन आउन भन्ने व्यहोराको पत्र पठाएको र उक्त पत्र जिल्ला विकास समितिको फ्याक्स कार्यालय समयपछि बन्द भएकाले जिल्ला प्रशासन कार्यालयको फ्याक्समा पठाइएको हुँदा बुझि लिनुहुन भनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आफूलाई टेलिफोन मार्फत खबर आएको तर आश्चर्यको कुरा मन्त्रालयको पत्रमा कतै उल्लेख नभएको शव्द अत्यन्त जरुरी र गोप्य  शव्द थपी जिल्ला प्रशासन कार्यालयकै लेटरप्याडमा सोही व्यहोराको छुट्टै पत्र काटी खामबन्दी गरी आफ्नो नाममा राती ८ बजेको समयमा जिल्ला प्रशासन कार्यालयका नासु पदम भट्टराई मार्फत सुरक्षाकर्मीको दलबल सहित पठाएकोमा डाँगी आश्चर्यमा परेका हुन्। मन्त्रालयले लेखेको पत्रमा शव्द बढाई छुट्टै पत्र लेखी रातीको समयमा बुझाउन प्रमुख जिल्ला अधिकारीलाई कसले भन्यो? कुन कानुनको अधिनमा रही यो हर्कत गरे, के भोलिपल्ट कार्यालय समय आउदैनथ्यो र? प्रमुख जिल्ला अधिकारीले आफ्नो पदीय दुरुपयोग गरी यस्तो कार्य गर्ने हर्कत कसरी गरे? कसले गरायो? यसको जिम्मेवारी कसले लिने? जिल्लामा विभागीय प्रमुखको जिम्मेवारीमा रहेका स्थानीय विकास अधिकारी माथि यस प्रकारको दुव्र्यवहार गरिन्छ भने तल्लो तहका कर्मचारी र आम नागरिकमाथि कस्तो व्यवहार भैरहेको छ होला कर्मचारीहरुले प्रश्न गरेका छन्? 
 
यता प्रमुख जिल्ला अधिकारी शर्मालाई यस बारेमा प्रश्न गर्दा उनले भने माथिको दबाब र आदेशको पालना गर्न बाध्य भएको बताए। तर रातीको ८ बजे उनलाई कुन निकायबाट कसले मौखिक आदेश दियो? बताउन चाहेनन् । यस बारेमा गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालासंग जिज्ञासा राख्दा सामान्य रुपमा लेखेको पत्रलाई अतिरंजित गरी प्रमुख जिल्ला अधिकारीले त्यसो गर्न नहुने र सो घटनाका बारेमा जानकारी लिने बताए। यता प्रमुख जिल्ला अधिकारी शर्माको उक्त कार्यप्रति जिल्लास्थित अधिकांश राजनीतिक दल, नागरिक समाज र संचारकर्मीहरुले आश्चर्य जनाएका छन्। 



नयाँ