काठमाडौं । सांसदले अर्थमन्त्री डा युवराज खतिवडालाई स्वीस बैकको ५३ अर्ब खोइ ? भनि प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले सो प्रश्न गरेका हुन् ।
सांसद मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्वीस बैकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राखे ।
स्वीट्जरल्याण्डको बैंकमा पैसा राख्ने मामिलामा नेपाल १०९ औं स्थानमा छ । स्वीस नेशनल बैंक (एसएनबी)को प्रतिवेदनअनुसार सन् २०१८ मा नेपाल सो सूचीमा परेको हो ।
यो सूचीमा अर्को मुलुकमा रहेको कम्पनीको नाममा पैसा जम्मा गर्ने व्यक्तिको गणना उसको वास्तविक मुलुकबाट गरिएको हुँदैन । कालोधन लुकाउन व्यापारीहरुले स्वीस बैंकमा पैसा जम्मा गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा खतिवडाले भने कसैको नाम मिलेकै आधारमा विदेशमा पैसा छ भन्न नसकिने बताए । खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताएका छन् ।
विदेशी बैंकमा रहेका खाताको खोजी भइरहेको बताउँदै मन्त्री खतिवडाले राजश्व सचिवको संयोजकत्वमा समिति गठन गरी प्रहरी पनि परिचालन गरिएको जानकारी दिए । नेपाल ट्रष्टले खोजी गर्दा तत्कालीन राजपरिवारका सदस्यको सानातिना रकम फेला परेको पनि उनले उल्लेख गरे ।
अन्तर्राष्ट्रिय सूचना प्रणालीबाट त्यसरी पैसा राख्नेको सूची खोजी भइरहेकाले कानून कार्यान्वयन गराउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो ।