arrow

म्यानमारबाट बिस्थापित दुई लाख रोहिङ्ग्याले निकाले बङ्लादेशमा र्‍याली

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
rohinga.jpg

कुतुपालोङ, बङ्लादेश । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरुले बङ्लादेशस्थित शिविरमा र्‍याली निकालेका छन् ।  म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना र्‍यालीमा सहभागी भएका हुन् ।

सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर बङ्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् ।  

र्‍यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए । उनीहरुले रोहिङ्ग्या जिन्दावाद भनेर नारा लगाएका थिए ।

अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ ।

म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरुका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीहरुले जनाएका छन् ।
 
विस्थापित भएका रोहिङ्ग्याहरुलाई बङ्गलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरुलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन ।

शरणार्थीहरुलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरुले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो पटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर शरणार्थीहरुले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ ।  एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ