arrow

ओली र प्रचण्डलाई देउवाले दिए चेतावनी; अध्यादेश ल्याए राम्रो हुन्न

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशमार्फत उच्च अदालतको न्यायाधीश नियुक्त गर्न लागिएको जानकारी पाएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन्। सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य नहुने बताएका हुन्।  
 
काँग्रेस सभापति देउवाले नेपाल सरकारले पुनरावेदन अदालतलाई उच्च अदालत कायम गरी उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने प्रयोजनका लागि अध्यादेश ल्याउने तयारी गरेपछि प्रधानमन्त्री ओलीलाई फोन गरी अध्यादेश ल्याउने काम तत्काल रोक्न भनेका हुन्।
 
सभापति देउवाले यस्तो कार्य संसद्मा प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसलाई मान्य नहुने चेतावनी दिए। सभापति देउवाले सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समेत टेलिफोन गरी अध्यादेश प्रक्रिया तत्काल स्थगन गर्न भनेको उनका सहयोगी भानु देउवाले जानकारी दिए। 
 
नेपालको संविधान २०७२ लाई नै संशोधन गर्ने गरी नेपाल सरकारले न्याय प्रशासन ऐन, २०४८ संशोधन अध्यादेश ल्याउने तयारीको सूचना पाएपछि सभापति देउवाले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई टेलिफोन गरेका हुन्। फोनमा देउवाले दुबै नेतालाई अध्यादेश ल्याए राम्रो नहुने चेतावनी दिएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ