राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार
रासस,
प्रकाशित २०७६ भदौ १२ बिहिबार
411
Shares
काठमाडौं सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ। अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ। २८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको सो बैंकले आज विस्तार गरेको शाखा कार्यालयमा चकचकी (झापा) कसिंयावजार (मोरङ), चन्द्रपुर (रौतहट), भीमफेदी (मकवानपुर), बलवाबजार र पिपरा(महोत्तरी), पोखरीया (पर्सा), टोखा र कोटेश्वर (काठमाडौ), खैरेनीटार (तनहुँ), पूर्तिघाट (गुल्मी) चन्द्रौटा–कपिलबस्तु) र घोराही (दाङ) रहेका छन्। सबै जिल्लामा बैंकको पहुँच पुगेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल माध्यमबाट आज ती शाखा कार्यालयको शुभारम्भ गर्दै पुँजि बजार सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए। उनले भने, “आर्थिक गतिविधि बढिरहेको छ। एक खर्बको विदेशी लगानी आउने प्रतिबद्धता आएको छ। आर्थिक वृद्धिदर बढेको छ।” अर्थमन्त्री डा खतिवडाले बचत खाताका सेवाग्राहीलाई प्रदान गर्ने ब्याज रकम वृद्धि गर्न र स्वायत्ताभित्रको जवाफदेहीता प्रदान गर्न बैंकसित आग्रह गर्दै तरलताको सङ्कट आउन नदिन, सस्तो ब्याजदरमा कृषि, पर्यटन, घरेलु उद्योगम लगानी बढाउनुपर्नेमा जोड दिए।
बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत रु ४० करोड लगानी गरेको र अगामी दिनमा लगानी वृद्धि गर्दै लैजाने बताए। उनले भने, “वित्तीय पुहँच र सबै नेपालीको बैंक खाता बनाउने अभियानलाई सहयोग गर्न बैंकले प्राथमिता दिएको छ। बैंक सुधारको आयोजना जारी रहेको छ।”
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सहुलियत दरमा कर्जा वितरण कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न बैंकसित आग्रह गर्दै उत्पादनशील कर्जा वितरण, वित्तीय समावेशीता र वित्तीय स्थायित्वमा ध्यानुपर्ने बताए।
बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गत आवका बैंकले रु पाँच अर्ब ३२ करोड मुनाफा आर्जन गर्न सफल रहेको जानकारी दिँदै बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब रहेको बताए। विसं २०२२ माघ १० गते सो बैंकको स्थापना भएको थियो।