arrow

काँग्रेसले दलको विधानमा के के गर्दैछ संशोधन ?

२२ गते संसदीय दल र केन्द्रीय समिति बैठक

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
congress17.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको मिति तय भईसकेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान संशोधनको अडान राखेपछि काँग्रेस अहिले विधान संशोधनमा लागेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र पूर्ण बहादुर खड्कालाई विधान संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएपछि उनीहरु गृहकार्यमा लागेका हुन् । उनीहरुले पौडेल पक्षका नेताहरुसंग छलफल गरेका छन् भने पौडेल पक्षका नेताहरुले पनि विधानमा थप्नुपर्ने विषयहरुका बारेमा परामर्श गरिरहेका छन् । 
 
उनीहरुले तयार पारेको विधान संशोधनको खाकालाई निर्वाचनका लागि तोकिएको मिति भन्दा पहिला बस्ने संसदीय दलको बैठक र केन्द्रीय समितिको बैठकले पारित गर्ने तयारी भएको छ । सभापति देउवाले आउदो २२ गते विहान बस्ने संसदीय दलको बैठक र अपरान्ह २ बजे केन्द्रीय समिति बैठक बोलाउने मनस्थीति बनाउनु भएको एक नेताले जानकारी दिएका छन् । पूर्वसभापति सुशील कोइरालाको निधन पश्चात रिक्त रहेको कांग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते र कार्यसमिति चयनका लागि चैत २६ गते निर्वाचन हुँदैछ ।  
 
निर्वाचन अघि हुने संशोधनमा नयाँ संविधानअनुसार विधानलाई प्रादेशिक संरचनाअुनसार परिवर्तन गर्ने एजेण्डालाई प्रमुख एजेण्डा बनाईएको छ । अहिलेसम्म पाँच विकास क्षेत्रबाट प्रतिनिधित्व हुने व्यवस्था गरिएकोमा अब सात प्रदेशबाट प्रतिनिधित्व हुने व्यवस्था राख्ने तयारी भईरहेको छ । 
 
त्यस्तै संविधानले उल्लेख गरेअनुसार आरक्षण कोटा निर्धारण गर्नु पर्ने काँग्रेस संसदीय दलको विधान संशोधनको मुख्य विषय हो । महिला, दलित, जनजाति, मधेशी, मुस्लीम तथा अल्पसंख्यक आदी समुदायको प्रतिनिधित्वका लागि संविधानमा भएको व्यवस्था अनुसार संसदीय दलको विधानमा पनि व्यवस्था गर्न नेताहरुले छलफल गरिरहेका छन् । 
 
संविधानसभा रहेको बेला संसदीय दलको नाम पनि नेपाली काँग्रेस संविधान सभा तथा व्यवस्थापिका संसद संसदीय दल रहेकोमा अहिले संविधान सभा अन्त्य भईसकेकाले नामबाट पनि संविधान सभा हटाउनु पर्ने भएको छ । त्यस वाहेक अन्य केही व्यवस्था थप्ने र अन्य केही प्राविधिक विषयहरु मिलाउन काँग्रेसका नेताहरुले गृहकार्य गरिरहेका छन् । 
  
काँग्रेस संसदीय दलको निर्वाचनका लागि सभापति देउवा पक्षका केन्द्रीय सदस्य रमेश रिजाल र सुरेन्द्र पाण्डे तथा पौडेल पक्षका गुरुराज घिमिरे सम्मीलित तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ । समितिको पहिलो बैठकमै विधान संशोधन गरेर निर्वाचन गर्ने र निर्वाचनपछि विधान संशोधन गर्ने भन्ने बारेमा विवाद भएको थियो । त्यही विवादका कारण पौडेल पक्षका घिमिरेको असहमतिका विच वहुमतका आधारमा समितिको यही चैत १४ गते बसेको बैठकले चैत २४ गते दलको नेता र २६ गते दलको कार्यसमितिको चयन गर्ने निर्णय गरेको थियो । 
 
निर्वाचनको मिति तय गर्दा समितिका दुई सदस्यले पौडेल पक्षका घिमिरेलाई पेलेर गरेको भएपनि सभापति देउवाले भने पौडेल पक्षकै मागका आधारमा विधान संशोधनको प्रक्रियालाई अगाडी बढाउन लाग्नु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ