arrow

भारतमा आकाशेपुल भत्किँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
kolkata.jpg.jpeg
कोलकाता । भारतीय उत्तरी राज्य कोलकाताको मध्यभागमा बिहीबार फ्लाइओभर (आकासेपुल) भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । पुल भत्किएको सो स्थानमा कैयौँ व्यक्ति अझै पुरिएको आशङ्का भएकाले सयौँ उद्धारकर्ता बिहीबार राति पनि उद्धारकार्यमा व्यस्त रहेका बताइएको छ । 
 
व्यस्त सडकमा भएको यस दुर्घटनामा करिब १०० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । भारतको कोलकातामा निर्माणाधीन सो आकासेपुल बिहीबार भत्किएको हो । पुल भत्किँदा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको पश्चिम बङ्गाल राज्यका प्रकोप व्यवस्थापन मन्त्री जाभेद अहमद खानले बताएका छन् । प्रकोप नियन्त्रण व्यवस्थान निकायका प्रवक्ता अनिल सेखावतका अनुसार ७० जना भने जिवितै उद्धार गरिएको छ । 
 
सो घटनामा परी करिब १०० भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता अनुराग गुप्ताले एएफपी समाचार समितिलाई टेलिफोनमार्फत बताउनुभएको छ । सुरुमा यस दुर्घटनामा ५ व्यक्तिको मात्र मृत्यु भएको बताइएको थियो । तर पछि सो स्थानबाट अरु शव पनि निकालिएपछि दुर्घटनामा मारिएका व्यक्तिको सङ्ख्या २२ पुगेको हो । 
 
पुल भत्किएको भग्नावशेषमा अझै कति जना व्यक्ति पुरिएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको बताइएको छ । बिहीबार बिहान सो दुर्घटना भएको हो । कैयौँ व्यक्तिलाई उद्वार गरी नजिकैको अस्पतालमा पुर्‍याइएको छ । अस्पतालमा भर्ना भएका व्यक्तिको अवस्था पनि निकै नै गम्भीर रहेको बताइएको छ । पुरिएकामा उक्त पुल निर्माण कार्यमा सम्लग्न मजदुरहरू नै बढी मात्रामा रहेका देखिएको छ । स्थानीय टेलिभिजन च्यानलहरूले उक्त निर्माण कार्यमा सम्लग्न व्यक्तिहरू धेरै चेपुवामा परेका बताएका छन् । 
 
अहिले पनि उक्त स्थानमा उद्वारको कार्य जारी रहेको छ । टिभी च्यानलहरूले घटनास्थलमा धुवाँ उडेको र ठूलो सङ्ख्याका नागरिक उद्धार कार्यमा सम्लग्न भएका देखाएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ