arrow

चितवनका ९० प्रतिशत बालगृहमा क्रिश्चियन धर्मको प्रचार

सरकारले सहयोग गर्न नसक्दा अनाथ बालबालिकालाई धर्म प्रचारको माध्यम

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
Chitwan-hamrakura.jpg.jpeg
चितवन। जिल्लामा सञ्चालित अधिकांश बालगृहका बालबालिकालाई क्रिश्चियन धर्म सिकाउने गरेको पाइएको छ। जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालय चितवनले गरेको अनुगमनमा जबरजस्ती धर्म परिवर्तन गर्ने गराइएको पाइएको हो।
 
अनुगमनमा सहभागी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले अधिकांश बालगृहले क्रिश्चियन धर्मको ज्ञान बालबालिकालाई सिकाउने गरिएको बताइन्।
 
उनीका अनुसार ती बालगृहमा खानाखानु अघि र खाना खाइसकेपछि यशुको प्रार्थना गर्न लगाइन्छ। यशुको प्रार्थनापछि प्रसादको रुपमा खानालाई दिने गरेको र बालबालिकालाई सोही धर्मका विषयमा पढाउने गरेको बताइएको छ।
 
चितवनमा ३१ वटा बालगृह सञ्चालनमा छन्। जहाँ ५ सय २१ बालक र ५ सय २५ बालिका गरी एक हजार ४६ जना बालबालिका रहेका छन्। यस वर्षको तथ्याङ्क भने आउन बाँकी रहेको प्रमुख पौडेलले बताए।
 
सबैभन्दा बढी भरतपुर उपमहानगरपालिकामा १६ वटा बालगृह छन् भने रत्ननगर नगरपालिकामा १० वटा, नारायणी नगरपालिकामा तीनवटा, राप्ती नगरपालिकामा एउटा र खैरहनी नगरपालिकामा एउटा रहेका छन्। तिनीहरूमध्ये ९० प्रतिशत बालगृहमा क्रिश्चियन धर्मको प्रचार हुने गरेको बताइएको छ।
 
बालबालिकासम्बन्धी महासन्धी १९८९, बालबालिका ऐन २०४८ र बालबालिका नीति २०६९ ले अनाथ बालबालिकाको परिभाषामा बाबुआमा दुबैको मृत्यु भएको र एकाघरका कोही पनि नभएको अवस्थालाई मात्रै अनाथको रुपमा व्याख्या गरेको छ। तर पनि ‘बाबुआमामध्ये कुनै एकको मृत्यु भएको अवस्थामा सङ्ख्या बढाउनकै लागि अनाथको व्याख्या गरेर बाल गृहले राख्ने गरेको पौडेलले बताए।’
 
उनले दीर्घकालीन भन्दा क्षणिक हेर्ने गरिएको र गरिबीको फाइदा उठाइएको बताए। दाताले आफ्नो स्वार्थपूर्तिका लागि रकम दिने गर्दछ। अधिकांशले तीनै दाताको रकम ल्याएर उनीहरुले भनेबमोजिम धर्मको बारेमा अध्ययन गराइएको पाइएको छ।
 
सरकारले सहयोग गर्न नसक्दा अनाथ र गरिब बालबालिकालाई धर्म प्रचारको माध्यम बन्न बाध्य पारिएको पाइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह बालबालिकालाई कुनै पनि धर्मको जबरजस्ती अध्ययन गराउन नपाइने बताए। जबरजस्ती धर्म परिवर्तन गराउनु कानुनले दण्डनीय मानेको छ। रासस 



नयाँ