- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीसंगको कुराकानीमा स्वास्थ्य अवस्था राम्रो रहेको र बुधबार सातौं पटक प्लाज्मा फेरेसिसको अन्तिम चरण पूरा हुने बताएको सुनाए ।
नेपालमा तपाईको स्वास्थ्यको चासो बढिरहेको छ भन्ने प्रश्नमा ओलीले आफूलाई बुधबार सातौं चरणको प्रक्रिया पूरा हुने र शुक्रबार आफू नेपाल फर्किने जानकारीसमेत दिएको नेम्वाङले बताएका छन् ।
यसैबीच ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेकपाका सचिवालय सदस्य तथा उपाध्यक्ष वामदेव गौतम र अर्का सचिवालय सदस्य तथामहासचिव बिष्णु पौडेल सिङ्गापुर जाँदै छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मङ्गलबार दिउँसो १ बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।
स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए । उनको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।
प्रधानमन्त्री शुक्रबार फर्कदै गर्दा गौतम र पौडेल सिङ्गापुर जान खोज्दा भने विभिन्न चासो पनि बढेको छ । यस सम्बन्धमा नेता नेम्वाङले भने पार्टीको काम विशेषले पनि जान लागेको हुन सक्ने बताए ।
नेम्वाङले स्पष्ट पार्दै भने, ‘विभिन्न नेताहरु यो बीचमा सिंगापुर गइसक्नु भएको छ, म पनि आउँछु भनेर प्रधानमन्त्री ज्यूलाई भनेको थिएँ उहाँले म ठीक छु शुक्रबार फर्किन्छु भन्नुभएकाले हवस् त भनेको हुँ ।’
पछिल्लो पटक प्रधानमन्त्री ओलीले गत सोमबार भिडियो कन्फरेन्समार्फत सिङ्गापुरबाटै मन्त्रिपरिषदका सदस्यहरुसंग कुराकानी गरेका थिए ।