arrow

श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन सरकार केन्द्रित    

श्रम ‘अडिट’लाई प्रभावकारी रुपमा कार्यान्वयनमा लाग्न सरोकारवालालाई निर्देशन 

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
gokarna-bista1.jpg

काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा बिहीबार बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम ऐनअनुसारको सेवा सुविधा उपलब्ध गराए÷नगराएका बारे अनुगमन केन्द्रित गर्ने जनाउ दिएको हो ।     
     
 बैठकलाई सम्बोधन गर्दै श्रममन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए–नभएको सुनिश्चित गर्न गम्भीर ढङ्गबाट अनुगमन गर्ने बताए । ज्यालामा देखिएको असमानता गम्भीर विषय भएको उल्लेख गर्दै उनले महिला र पुरूषबीच ज्यालामा देखिने पारिश्रमिकसम्बन्धी विभेद अन्त्य गर्न सरकारले विशेष कदम चाल्ने बताए ।     
     
 मन्त्री विष्टले श्रमिकले सेवा सुविधा प्राप्त गर्ने आधार सुनिश्चित गर्न श्रम ‘अडिट’लाई प्रभावकारी रुपमा कार्यान्वयनमा लाग्न सरोकारवालालाई निर्देशन दिए । श्रमिकको रूपमा विदेशिने नेपाली नागरिकका हक, अधिकार एवं सुरक्षाको विषयमा अधिकतम ध्यान दिनुपर्नेमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपाली श्रमिकको हितविपरीत हुने गरी कुनै सम्झौता नगरिने दृढता व्यक्त गरे ।
     
 मन्त्री विष्टले श्रम कानूनका प्रावधानको प्रभावकारी कार्यान्वयन गरी श्रमिकका गुनासा यथाशीघ्र सम्बोधन गर्न नीतिगत, कानूनी, संस्थागतलगायत आवश्यक जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा थप सुधार गर्न निर्देशन दिए ।
     
 श्रमसचिव विनोद केसी श्रम कानूनको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त अनुगमन र अन्य सुधारका लागि मन्त्रालयले आवश्यक समन्वय एवं सहजीकरण गर्ने बताए ।   
     
 बैठकमा व्यावसायिक तथा सीपमूलक तालीमलाई एकीकृत नीति र संरचनाभित्र सञ्चालन गर्ने, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ तथा एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमालगायत विषयमा छलफल भएको थियो ।

नेपालले अनुमोदन गरेका तथा अनुमोदन नगरेका अन्तरराष्ट्रिय श्रम सङ्गठनका महासन्धिको कार्यान्वयनको अवस्थासम्बन्धी छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ