arrow

फोहोर नाला सफा गर्दै रोल्पाका डीएसपी

logo
कविता उपाध्याय,
प्रकाशित २०७२ चैत २० शनिबार
2-(2).jpg.jpeg
रोल्पा। उपराष्ट्रपति नन्दबहादुर पुनमगरले नेपालको २८ औं स्थानमा खुला दिसामुक्त घोषणा गरेपछि रोल्पा जिल्ला पूर्ण सरसफाइको खुड्किलोमा पाइला टेक्दै गरेको छ। सरसफाइसंग प्रत्यक्ष चासो राख्ने सरोकारवालाहरु जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, नगरपालिका, गाविस र बिभिन्न गैससहरुले बजेट व्यवस्थापनका साथमा सरसफाइका गविविधिहरु संचालन गरीरहेको अवस्थामा जिल्लाको शान्ति सुरक्षामा खटिएको प्रहरीले २०७२ चैत २० गते शनिबारदेखि साप्ताहिक रुपमा जिल्लाका सबै प्रहरी युनिट भएका ठाउँहरुमा सरसफाइका गविविधि संचालन गर्ने अभियान थालेको छ।
 
प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर जिल्लामा आएको एक महिना नपुग्दै जनताको प्रत्यक्ष जीवनसंग जोडिएको सरसफाइ गतिविधि संचालनमा सक्रियता दिनुले स्थानीयबासीहरुले खुशी व्यक्त गरेका छन्।
 
जिल्लाको सदरमुकाम लगायत सबै प्रहरी युनिट रहेका ठाउँहरुमा सरसफाइ गतिविधि संचालन गर्न निर्देशन दिएका प्रनाउ घर्तीमगर आफू भने सदरमुकामको टुडिखेल क्षेत्रको सरसफाइ गतिविधिमा बिहानभर व्यस्त रहे। हातमा पञ्जा र मुखमा मास्क लगाएर उनले प्रहरी निरिक्षकहरु सहित विभिन्न दर्जाका प्रहरीका साथमा टुडिखेलमा जम्मा भएको फोहोर नाला सफा गर्ने कार्यमा व्यापकताका साथ लागे।
 
आफू जहाँ रहँदा पनि सरसफाइलाई पहिलो प्राथमिकतामा राखेर आएको बताउने उनले जिल्लामा आफूले हरेक शनिबार यसलाई निरन्तरता दिने र यसका लागि औपचारिक रुपमै जिल्ला विकास समिति र नगरपालिकासंग सहकार्यका लागि अनुरोध गर्ने सोंच भएको पनि बताए। प्रहरीले सरसफाइ गतिविधि संचालन गरिरहेको ठाउँमा स्थानीय विकास अधिकारी गेहेन्द्रबहादुर डाँगी र लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसी, सामुदायिक सेवा समितिका अध्यक्ष खटकबशादुर  खत्री लगायत बिभिन्न सरोकारवाला व्यक्तिहरुको पनि उपस्थिति थियो।
 
कार्यक्रममा स्थानीय विकास अधिकारी गेहेन्द्रबहादुर डाँगीले जाडोको समयमा आफूहरुले बिहान बिहान सरसफाइमा संलग्न भएको यसमा प्रहरीको पनि संलग्नता हुने गरेका तर अहिले त्यो टी फर वास अभियान सुस्ताएको बताए। लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीले डम्पिङ साइट व्यवस्थापन नहुँदा सरसफाइका गतिविधि संचालनमा बाधा भएको गुनासो गरे।
 
यसैगरी प्रहरी निरिक्षक केशवबहादुर बस्नेतले सरसफाइमा प्रहरीको संलग्नता हुने व्यवस्थाले जनतामा चासो र सक्रियता बढ्ने बताए भने जिल्ला विकास समितिका वास फोकल पर्सन दामोदरप्रसाद सुवेदीले सरसफाइमा सुरक्षा निकायको नैतिक समर्थन मात्र हुने हो भने पनि गतिविधिलाई तिब्रताका साथ लैजान सजिलो हुने बताए।
 
जे होस जिल्लाको सदरमुकाम क्षेत्रमा अलि सुस्ताएको सरसफाइ अभियानमा प्रहरी त्यसमा पनि प्रहरी प्रमुखकै  सक्रियता हुनुले फेरि यस क्षेत्रलाई झक्झकाएको छ तर स्थानीयबासी मुकदर्शक बनेर बस्ने हो भने सरसफाइले भनेजस्तो फड्को मार्न नसक्ने भएकोले स्थानीयबासीको साथ र सहयोज अपरिहार्य छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ