arrow

राहुलले अध्यक्ष छोडे, उर्मिलाले कांग्रेस

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
urmila1.jpg

काठमाडौं ।  भारतीय अभिनेत्री उर्मिला मातोन्डकरले कांग्रेस आइ पार्टीबाट राजीनामा दिएकी छन् । कांग्रेस प्रवेश गरेको दुई दिनमै पार्टीले लोकसभा चुनावमा उम्मेदवार बनाएकी उर्मिलाले ५ महिनापछि कांग्रेसबाट राजीनामा दिएकी हुन् ।

 राजीनामामा उनले भनेकी छन् "मेरो राजनैतिक र सामाजिक समझदारीले ठूलो लक्ष्य हासिल गर्नु हो, तर मुम्बई कांग्रेसको आन्तरिक गुटबन्दीले गर्दा म त्यसो गर्न असमर्थ छु।"

२०१९ को लोकसभामा उनले उत्तर मुम्बई सीटबाट चुनाव लडिन् तर भाजपा उम्मेदवार गोपाल शेट्टीसँग पराजित भएकी थिइन् । शेट्टीले २०१४ मा सोहि स्थानबाट मोदी लहरका कारण सो सीटमा संजय निरूपमलाई हराएका थिए ।

उर्मिलाले राजीनामामा लेखेकी थिइन, "तत्काल मुम्बई कांग्रेसका अध्यक्ष मिलिंद देवराले १६ मेमा लेखेको मेरो पत्रमा कुनै कदम चालेको थिएनन् त्यसवेला राजीनामा दिने विचार पहिलो पटक आयो। यसपछि, गोप्य संवाद सजिलै मिडियामा लीक गरियो। यो ममाथिको एउटा चाल थियो। ”

वास्तवमा लोकसभा चुनाव परिणाम आउनु अघि उर्मिलाले पत्रमा पराजितको लागि स्थानीय नेताहरुमाथि औंला उठाएकी थिइन् । सो हार कमजोर रणनीति, मजदुरहरूको उपेक्षा र रकमको अभावका कारण भएको बताएकी थिइन् ।

उर्मिलालाई भित्राएका भारतीय कांग्रेस आईका राहुल गान्धीले यसअघि नै अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् । सन् २०१७ को डिसेम्बरबाट काँग्रेस अध्यक्ष बनेका राहुलले पार्टीलाई लोकसभा चुनावमा सफल बनाउन नसकेपछि उनले नैतिकताको आधारमा कुर्सीमा नबस्ने निर्णय गर्दै राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस आईको नयाँ अध्यक्षमा सोनिया गान्धी चयन भएकी छिन।

जम्मू कश्मीरबाट धारा ३७०  हटाएको कारण उर्मिलाले केन्द्रीय सरकारलाई केही दिन अघि निशाना बनाएकी थिइन् । उनले भनेकि थिइन् जम्मू कश्मीरमा इन्टरनेट र फोन सेवा बन्द भएको कारण उनी आफ्नो सासु ससुराको बारेमा खबर पाउन सक्दिनन्। उर्मिलाको मोहसिन अख्तर मीरसँग विवाह भएको हो। उनी काश्मिरका हुन्।

उर्मिला केटाकेटीदेखि नै महात्‍मा गान्धी, पण्डित जवाहर लाल नेहरू र सरदार वल्‍लभ भाई पटेलको विचारोले प्रभावित गरेको भन्दै कांग्रेसमा प्रवेश गरेकी थिइन् । बाकी जीवन राजनीतिमै रहने बताएकी उर्मिलाले अब के गर्ने हो हेर्न बाकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ