दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २५ बुधबार
803
Shares
जोहानेसबर्ग। दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ।
पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न शहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ। विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका थिए।
रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहानेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डिएच विलियम्स एन्ड शोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिए। यहाँ करिब २२८ जना शरणार्थी बालबालिका पनि रहेका छन्।
दक्षिण अफ्रिकामा गत साता हिंसा भड्किएको थियो। विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका थिए।
रक्षामन्त्री मापिसाका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब ७०० व्यक्तिलाई गिरफ्तार गरिएको छ। गत मंगलबारसम्म हिंसाका कारण १२ जना मारिएका छन् जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन्। उनले विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको बताए। यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६४० जना नाइजेरियाली नागरिक स्वदेश फर्कदै छन्।
रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक होइन, छैन भन्दै कानुन हातमा लिने जोसुकैमाथि कडा कारबाही गरिने बताए।