arrow

नेकपा वडाध्यक्षको निर्देशनमा बाँके कांग्रेस सभापति लगायत दर्जनौँमाथि आक्रमण

सभापति किरण कोइरालाको हात भाँचियो

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका कांग्रेस सभापतिसहित पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको छ ।

बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३-१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी सांघातिक हमला गरेका हुन् ।

उनिहरुले “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेका हुन् ।

घटनाको नेपाली कांग्रेसले निन्दा र भत्र्सना गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गर्दै  आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

घटनामा जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । नेकपाका ५०-६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए ।

'यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ' विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, 'बढदो महंगी, भ्रष्टाचार, महिला हिसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।'

साथै, भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिएको छ । कांग्रेसले जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत नेकपालाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ