arrow

काँग्रेसको गुट गुटमा सांसद्हरुको तानातान

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
deuba-poudel-sitoula-1.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनको मिति नजिकिदै गर्दा सांसद्हरु ओसार पसार तिव्र भएको छ। सांसद्हरु एक पक्षबाट अर्को पक्षमा जाने लैजाने क्रम तिव्र भएको सांसदहरु नै बताउछन्। उनीहरुलाई पार्टीका विभिन्न गुट उपगुटका नेताहरुले नै आफ्नो पक्षमा पार्न भेटघाट, छलफल र फोन गर्ने गरेका छन्। 
 
काँग्रेसमा अहिले सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य खुमबहादुर खड्का लगायतका नेताको नेतृत्वमा गुटहरु रहेका छन्। कतिपय सांसद्लाई ति गुटका नेतृत्वकर्ताले नै सम्पर्क गर्ने गरेका छन् भने कतिपयलाई उनका निकटस्थ नेताहरुले भेटघाट र गुट प्रवेशको व्यवस्था मिलाउने गरेका छन्। 
 
कुनै गुटमा स्पष्ट र खरो रुपमा लागेकाहरुलाई त्यतिधेरै तानातान नभएपनि कुनै पनि गुटमा खुलेर नलाग्ने तर भित्री समर्थन देखिने सांसदहरुलाई नेताहरुले बढी लक्षीत गरेको पाईएको छ। 
 
नाम उल्लेख नगर्ने सर्तमा एक सांसदले भनिन् “कुनै गुटमा बफादार भएकाहरुलाई त कम दवाव परेको होला, हामी जस्ता गुटप्रति विश्वास नगर्नेहरुलाई त अहिले साह्रै गाह्रो भएको छ।” उनले थपिन् “हरेक गुटका नेताले फोन गर्ने र भेट्ने गर्नु भएको छ, हुन्छ भनु भने कसरी भनु हुन्न भन्न पनि कसरी भन्नु साह्रै अफ्ठ्यारोमा परिएको छ।” 
 
अर्का एक सांसद्ले भने अति दवाव दिने तर आफुले नरुचाउने कुनै गुटका नेतालाई त म तपाईकोमा आउन सक्दीन भनेर भनिदिएको बताए। 
 
गुटका नेताहरुले दवाव थेग्न नसकेर कतिपय सांसद्हरु त नेताहरुको सम्पर्कमै नजाने गरेका छन्। “बोलाएर हैरान पार्छन्, अनेक अनेक इमरजेन्सी काम परेको बहाना गर्दै टाढिने गरेको छु,” अर्का एक सांसदले भने।  
 
काँग्रेसको भागमा पारेर मन्त्रीपरिषद्बाट मनोनीत गरिएकाहरु बाहेक अहिले काँग्रेसका कुल १९७ जना सांसद रहेका छन्। तिनीहरु मध्ये एक सय भन्दा बढी आफुहरुको पक्षमा रहेको र चुनावको दिन सम्म १ सय ३० जनाको भोट खसाल्ने देउवा पक्षको तयारी छ। तर पौडेल पक्षका नेताले पनि आफ्नो पक्षमा एक सयकै हाराहारीमा सांसदहरु रहेको बताउछन् । सिटौला समुहमा रहेका अधिकाँश सांसद भने विगतमा संस्थापन पक्षका रहेका थिए। सिटौला पक्षले ३० जना आफ्नो पक्षमा रहेको दावी गरेको छ। सभापतिको निर्वाचनमा दोस्रो चरणमा देउवालाई सहयोग गरेको सिटौला समुहबाट सहयोग नपाएमा पौडेल पक्ष पराजित हुने अवस्था देखिन्छ। 
 
सजिलै जित्नका लागि धेरै मेहनत गर्नै नपर्ने विश्लेषण सहित बसेको देउवा पक्ष सानदार जितका लागि कृष्णप्रसाद सिटौल र गगन थापाको समुहलाई आफ्नो पक्षमा तान्ने सुरमा रहेको छ। साथै केही गरी दुई चार भोट तलमाथी परेर पराजित भईने खतरा हुने भएकाले पनि देउवा समुहले सिटौला समुहलाई जसरीपनि आफ्नो पक्ष पार्ने निश्कर्ष निकालेको छ। सिटौला समुहले आफुसंग ३० जना सांसद रहेको भन्दै आफ्नै रणनितिमा जुटेको छ। आफ्नो समुहलाई निर्णायक बनाउने गरी सिटौला समुह छलफलमा लागेको एक नेताले जानकारी दिए।
 
काँग्रेसको संसदीय दलका नेता सुशील कोईरालाको निधन भएपछि सो पदका लागि फेरी निर्वाचन हुन लागेको छ । संसदीय दलको निर्वाचनका लागि काँग्रेसले गठन गरेको निर्वाचन समितिले यही २४ गते संसदीय दलको नेताको निर्वाचन गर्ने तय गरेको छ भने कार्यसमितिको निर्वाचन २६ गते गर्ने भएको छ । त्यसअघि संसदीय दलको विधान संशोधनका लागि भोली सोमवार विहान संसदीय दलको बैठक र दिउसो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । बरिष्ठ नेता पौडेल पक्षले विधान संशोधन विना निर्वाचन गर्न नहुने अडान राखेपछि सभापति देउवा पक्ष विधान संशोधन गर्न तयार भएर सोमवारको बैठक बोलाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ