वाईडबडी प्ररकरणमा छानबिन गर्न मन्त्री भट्टराईलाई सुझाव, 'नडराउनुहोस मन्त्रीज्यू जनताले तपाईलाई प्रधानमन्त्री बनाउँछन्'
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
297
Shares
काठमाडौं। पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलले वाईडबडी खरिद प्रकरणमा भएको घोटालामा नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले यस्तो बताएका हुन् । आफूसँग उपलब्धक भएका डकुमेन्ट अनुसार नेपाल बाहिरका दिपक शर्मा (एआर कर्पोरेशन) र कंशकारबीच भएको सम्झौताको आधारमा कंशकारको नाम लिन बाध्य भएको पनि उनले खुलासा गरेका छन् ।
त्यस्तै, उनले यो प्रकरणमा नेपाल सरकारलाई फेल गराउने तवरले संसदीय छानबिन समितिले प्रतिवेदन ल्याएको आरोप लगाए । उनले भने,‘मैले त आजकै डेडलाईन दिएको थिएँ, भदौ २७ गते । तर, मैले दिएको डेडलाईनभन्दा चार दिन अघि नै भ्रष्टाचार भएको छैन भनेर संसदीय छानबिन समितिको प्रतिवेदन निकालिनुले प्रशासनभित्रको मिलोमतोमा सरकारलाई फेल गराउने षड्यन्त्र भएको छ ।’
उनले उक्त प्रकरणमा छानबिनका लागि आफू वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई सहयोग गर्नपनि तयार रहेको सुनाए । उनले भने,‘यदि राजनीतिक प्रेसरबाट छानबिन प्रभाव पार्ने काम भयो भनेपनि मन्त्रीज्यू, तपाई नडराउनुहोस । यो प्रकरणमा छानबिनको लागि तपाई अघि बढ्नुहोस, जनताले तपाईलाई प्रधानमन्त्री बनाउँछन् ।’
उनले यो प्रकरणमा सत्य, तथ्य बाहिर ल्याउनको लागि पनि छानबिनको सुरुवात योगेश भट्टराई आफैंले गर्नुपर्ने सुझाए । उनले यो प्रकरणमा भ्रष्टाचारको भएको फिगर रकम चार अर्बमात्रै नभएर आफ्नो प्रारम्भिक अनुमानमा १८ अर्ब पुगेको पनि उनको दाबी छ ।