चिनियाँ राष्ट्रपतिको भ्रमण प्रभावित बनाउन अर्थमन्त्री खतिवडा लागेको आरोप
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
360
Shares
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमण भाँड्न अर्थमन्त्री युवराज खतिवडा लागेको नेकपाको एउटा वृत्तले आरोप लगाएको छ। खतिवडाले सभामुख कृष्ण बहादुर महरा मार्फत चिनियाँ राष्ट्रपतिको भ्रमण प्रभावित बनाउन खोजेको आरोप लागेको हो।
चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु अघि नै नेपाललाई अमेरिकी कित्तामा लैजाने खतिवडाले गम्भीर प्रयास सुरु गरेको आरोप पनि उनलाई लगाइएको छ।
अमेरिकाको इण्डो प्यासिफिक रणनीतिसँग गासिएको मिलेनियम च्यालेन्ज कम्प्याक्टलाई संसद्बाट पारित गर्ने र चीनलाई बिच्काउने प्रयासमा खतिवडाको संलग्नता देखाइएको छ।
सभामुख कृष्णबहादुर महरालाई समेत अमेरिकीहरु र देशभित्रैका विभिन्न शक्तिहरुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदबाट पारित गराउन दवाब दिएका नेकपा स्रोतको आरोप छ।
अर्थमन्त्री डा युवराज खतिवडाले सभामुख महरा तथा संसद् सचिवालयका अधिकारीहरुलाई यो कम्प्याक्ट पारित गर्न दवाब दिएको नेकपा स्रोत बताउँछ। स्रोत अनुसार अर्थमन्त्रालयका अधिकारीहरुलाई मन्त्री खतिवडाले अमेरिकासँगको यो सम्झौता तत्कालै प्रतिनिधिसभाबाट पारित गराउने गरी लविङ गर्न निर्देशन दिएका छन्।
अमेरिकासँग मिलेनियम च्यालेन्ज प्याक्टमा सन् २०१७ मा सहमति भए पनि अहिले आएर किन संसद्बाट अनुमोदन गराउनुपर्यो शंका उब्जिएको नेकपा श्रोतको दावी छ।
चिनियाँ राष्ट्रपति आउनु अघि यो सहमति जसरी पनि प्रतिनिधि सभाबाट पारित गराई चीनलाई बिच्काउने उद्देश्यसाथ अमेरिकासँगको सहमतिलाई प्रतिनिधि सभामा घुसाउने नियत देखिएको नेकपा स्रोतको दावी छ।