arrow

महाकाली कोरिडोरको इआइए तयार

logo
रासस,
प्रकाशित २०७६ भदौ २८ शनिबार
Baitadi-hamrakura.jpg

बैतडी। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ। सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनीमार्फत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारेको हो।

डिपिआर सडक निर्माणका क्रममा हुने जङ्गलको क्षति, खेतीयोग्य जमीनको क्षति, घरपरिवार विस्थापितलगायत वातावरणीय प्रभावका कुराहरु आँकलन गरेको टोलीप्रमुख रेशम बाँनियाले जानकारी दिए। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार महाकाली कोरिडर निर्माण गर्दा बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने भएको छ।

कोरिडोरले पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकामा प्रभाव पार्ने जनाइएकोे छ। यस्तै चार वटै स्थानीय तहमा करीब ३५ हेक्टर जङ्गल नष्ट हुने बताइएको छ। कोरिडोर निर्माणका क्रममा शिवनाथमा २१, दशरथचन्द नगरपालिकामा २७ र दोगडाकेदार गाउँपालिकामा ५७ घरपरिवार विस्थापित हुने देखिएको छ।

पञ्चेश्वर गाउँपालिकामा विस्थापित हुने परिवार सङ्ख्या सङ्कलनको काम भइरहेको छ। कोरिडोरले विस्थापित हुने घरपरिवारलाई क्षतिपूर्तिबापत १८ हजारदेखि ४० लाखसम्म मुआब्जा दिन सकिने जनाइएको छ। एघार मिटर अर्थात् दुई लेन चौडाइ रहने सडक निर्माणका क्रममा झण्डै पाँच हजार ठूला रूख र सात हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ।

कोरिडोरअन्तर्गत बैतडीमा ११४ किलोमिटर सडक निर्माण हुनेछ। कञ्चनपुरमा ११, डडेल्धुरामा ५९ र दार्चुलामा ४० किलोमिटर सडक निर्माण हुने बताइएको छ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएसँगै कोरिडोर निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ। महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट–दार्चुलासम्मको दूरी २९१ किलोमिटर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ