arrow

सडक मर्मत गरेर बजेट सक्दै मेलम्ची आयोजना

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
melamchi-water.jpg.jpeg
काठमाडौँ। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गर्न लागेको गोकर्ण–सुन्दरीजल सडकमा ठूलो पर्खाल लगाएर मर्मत कार्य सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले रु चार करोडको लागतमा मर्मत गर्न लागेको यो सडकलाई आयोजनाले अर्को आर्थिक वर्षमा विस्तार गर्ने सूचीमा राखेको छ । विस्तार गर्दा ठूलो पर्खाल भत्काएर सडक चौडा बनाइन्छ । सरकारका दुई निकायबीच समन्वय नहुँदा एउटाले केही महिना अगाडि बनाउने र अर्कोले भत्काउने नाममा राज्यकोषको करोडौँ बजेट सकिन्छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको अध्यक्षतामा भएको बैठकले निर्णय गरेर सडक मर्मत सुरु गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराई बताउछन् । “बैठकमा आयोजनाका प्रतिनिधिले यो सडक दायाँबायाँ ८०० घर भत्काउन पाँच वर्ष लाग्ने बताएपछि त्यति बेलासम्म सडक मर्मत नगर्दा दुर्घटना बढ्ने निष्कर्षका साथ काम सुरु भएको हो”– भट्टराईले भने । 
 
गोकर्ण भगवतीस्थानको उकालोदेखि सुन्दरीजल जाने चौताराको उकालोसम्म ८५० मिटर सडक मर्मत एवम् कालोपत्र गर्न लागिएको समितिले जनाएको छ । सुन्दरीजलमा मेलम्चीको सुरुङ मार्ग निर्माण हुन थालेपछि यो सडकको मर्मत गर्ने काम मेलम्ची आयोजनालाई नै दिइएको छ । 
 
जोरपाटी–सुन्दरीजल सडक विस्तारका लागि ठेक्का गरिएकाले आव २०७३/७४ बाट काम सुरु हुने आयोजना प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । स्थानीयवासी अच्युत अर्याल राज्यका दुई निकायले एकले बनाउने र अर्कोले भत्काउने गरेर राज्यकोष सक्ने खेल भएको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ