arrow

इजरायलमा संसदका लागि मतदान शुरु

logo
एपी,
प्रकाशित २०७६ भदौ ३१ मंगलबार

जेरुसलेम। इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो।

इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा छन्। भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिनु भएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा हुनुहुन्छ, तर चुनावी मत सर्वेक्षणले उहाँको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन्।

यस चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ। दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन्। इजरायली मतदाताको पछिल्लो रुझान गठबन्धन सरकारतर्फ झुकेको देखिएको छ।

यसअघि गत अप्रिलमा संसदका लागि आमनिर्वाचन भएको थियो। उक्त चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बन्न सफल भएपनि पूर्ण बहुमत हासिल गर्न असफल रहेको थियो। साना दलको सहयोग लिएर सरकार बनाए पनि अभिगडोर लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो। लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले  संसद बिघटन गरी नयाँ निर्वाचनको मिति तोक्नु भएको थियो।

चुनावी मत सर्वेक्षणमा नतिजामा खासै फेरबदल हुने सम्भावना देखिएको छैन, र लिबरम्यान फेरि पनि सरकार गठनमा मुख्य व्यक्तिका रुपमा देखिँदै छन्। चुनावका लागि मतदान केन्द्रहरु खुला भइसकेका छन्। चुनावको मतगणना स्थानीय समय अनुसार रातभरमा सार्वजनिक भइसक्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ