arrow

वीरगन्जमा कमल थापा र काठमाडौंमा केशरबहादुरको बैठक संगै

वीरगन्ज बैठक : धर्मनिरपेक्षताविरुद्ध संशोधन हाल्ने, नभए देशव्यापी संघर्ष गर्ने

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
kaml-thapa-new-birganj.jpg.jpeg
काठमाडौं । सत्ताआसिन दल राप्रपा नेपालले नयाँ संविधानमा व्यवस्था भएको धर्मनिरपेक्षताविरुद्ध संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । 
पार्टीभित्रको अन्तरकलह : सहअध्यक्ष केशरबहादुर विष्ट निलम्बनले जनताको अभिमतको अपमान भएको समानान्तर कार्यसमितिको ठहर ।
पार्टीभित्र अन्तरकलह चलिरहेकै बेला वीरगन्जमा भएको केन्द्रीय कार्य समितिको बैठकले धर्म निरपेक्षताविरुद्ध सदन र सडकमा संघर्ष गर्ने निर्णय गरेको राप्रपा नेपालले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । विज्ञप्तीमा भनिएको छ– ‘संविधानमा पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्मकाबीचमा समानता कायम राख्दै नेपाललाई हिन्दुराष्ट्रका रुपमा उल्लेख गर्न तथा धर्म निरपेक्षताको खारेजी गर्न संसदमा राप्रपा नेपालले उपयुक्त समयमा संविधान संशोधन प्रस्ताव राख्ने छ ।’ सो प्रस्ताव स्वीकृत नभए हिन्दुराष्ट्रबारे जनमत संग्रहको माग गर्दै पार्टीले देशव्यापी संघर्ष गर्ने समेत विज्ञप्तीमा उल्लेख गरेको छ । 
 
तीन दिन सम्म चलेको बैठकले समान विचारधारा भएका दल र समूहहरुसँग एकता र सहकार्य गर्ने निर्णय समेत गरेको छ । राप्रपा नेपाल र राप्रपाबीच एकीकरण वार्ता भइरहेको बताएपनि कमल थापा नेतृत्वको राप्रपा नेपालभित्रको अन्तर कलहले संवाद धमिलिएको छ । पार्टीभित्र समानान्तर कार्यसमिति बनेको छ । पार्टी अध्यक्ष कमल थापाले वीरगन्जमा आमसभामा देखिएको उत्साह हिन्दु धर्म र राष्ट्र रक्षाको एकता रहेको भनेका छन् । बैठक चैत १८, १९ र २० गते सम्म चलेको हो । 
 
एकता प्रक्रियालाई निष्कर्षमा लान माग 
राप्रपा नेपालको समानान्तर केन्द्रीय कार्यसमितिले राप्रपासँगको एकता प्रक्रियालाई यथाशीघ्र निष्कर्ष दिन नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको छ । पार्टीसँग आबद्ध भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन नेपाल, राष्ट्रिय युवा मोर्चा, लोकतान्त्रिक समावेशी ट्रेड युनियन स्वतन्त्र तथा राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालको काठमाडौंमा बसेको बैठकले महँगी, भ्रष्टाचारविरुद्ध सशक्त कार्यक्रम सञ्चालन गर्ने र यही चैत २६ गते रत्नपार्कमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए । 
 
बैठकले राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्ट निलम्बन प्रकरणबाट राप्रपा नेपाल आफ्ना आधारभूत सिद्धान्त र विचारमा विचलित भएको तथा त्यसले जनताको अभिमतको अपमान गरेको ठहर गरेको छ । यसअघि, दुवै पार्टीबीच एकताका लागि वार्ता समिति गठन भइसकेको छ । 



नयाँ