arrow

रिलायन्सले उखुको भुक्तानी नगर्दा बारा र पर्साका किसान मर्कामा, ओली सरकारले पनि ठग्यो 

logo
मुकेश यादव, 
प्रकाशित २०७६ असोज ७ मंगलबार
reliance-sugar-and-chemical-industries.jpg

बारा । चिनी मिललाई उखु बेचेको झन्डै एक वर्ष हुन लाग्दा पनि उखु किसानहरुले बेचेको उखुको मुल्य पाउन सकेका छैन । बाराको श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले बारा, पर्साका उखु किसानहरुलाई भुक्तानी नदिदा उखु किसानहरु पीडित बन्न पुगेका छन् । 

उखु खेतीमा लगानी गरी मिललाई बेचेको उखु वापतको रकम नपाएपछि उखु किसानहरु पिडित बनेका हुन् । चिनिमिलले उखुको भुक्तानी नदिँदा आउन लागेको पर्व कसरी मनाउने भने उखु किसानहरु चिन्तित बनेका छन् । 

सिजनमा ५ सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरी चिनीमिलले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदान वापत ६५ रुपैयाँ २८ पैसा किसानहरुलाई भुक्तानी नदिँदा बारा पर्साका उखु किसानहरु पिडित बनेका हुन् । 

मिल सञ्चालन हुने अर्को सिजन आएपनि पोहोरसाल मिलले खरिद गरेको उखुको भुक्तानी नदिदा आफुहरु समस्यामा परेको बारा कलैया उपमहानगरपालिका २ का उखु कृषक जयलाल यादवले गुनासो गरेका छन् । 

नगदे बालीको रुपमा उखु खेती गरिएपनि मिललाई विक्री गरिएको उखुको भुक्तानी नगर्दा तिहार कसरी मनाउने भने चिन्ताले सताएको यादवले गुनासो गरे । 

भुक्तानीको लागि मिलमा गएर धाउँदा धाउँदा थाकिसके तर आफनै सामान बेचेको वापत पैसा पाउन नसकेको अर्का उखु पीडित किसान रामदेव यादवले गुनासो गरेका छन् । मिलको रवैयाले गर्दा अब उखुको साटो मकै बाली लगाउनु पर्ने मनस्थितिमा आफु पुगेको यादवको भनाई रहेको छ । 

उखुको मुल्य निर्धारण गर्ने बेलामा प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोहबरमा मन्त्री, सचिव, उद्योगपति र उखु किसान संघबीच चिनिमिल उद्योगलाई किसानले बिक्री गरेको उखुको भुक्तानी ३० देखि ४५ दिनको भित्रमा सहमति भएपनि उद्योगीहरुले अटेरी गरी किसानहरुको भुक्तानी दिन आनाकानी गरेको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले बताए । 

चिनीमिललाई किसानहरुले उखु विक्री गरेको ७–८ महिना बितिसक्दा पनि चिनीमिलले भुक्तानी नगर्दा उखु कृषकहरु समस्यामा परेको अध्यक्ष कुशवाहाले बताए । 

उनले सरकारले दिने अनुदानको बारेमा उद्योग मन्त्रि मातृका यादवलाई पटक पटक गुहार गर्दा पनि अनुदानको रकम बारे केही पनि सुनुवाई नभएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष कुशवाहाको भनाई रहेको छ । 

२८ लाख ३६ हजार ४ सय ६० क्विन्टल २८ किलो उखु क्रसिङ गरेको चिनिमिलले ४ सय ७१ रुपैयाँ २८ पैसाको दरले उक्त उखु खरिद गरेवापत १ अर्ब ३३ करोड ६७ लाख ६७ हजार ७६ पैसा किसानहरुलाई भुक्तानी दिनुपर्ने भएपनि अहिलेसम्म मिलले ९१ करोड ६७ लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ । 

प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाको दरले सरकारले दिने अनुदान वापतको रकम १८ करोड ५१ लाख ६४ हजार १ सय २७ रुपैयाँ ८ पैसा उपलब्ध गराउन सकेको छैन । मिलले तिर्ने कुल रकमको ७० प्रतिशत किसानलाई भुक्तानी गरिसकेको बांकी रहेको ४३ करोड छठ पर्व भन्दा अगाडि भुक्तानी गर्ने लक्ष्य रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजका डेपुटी जेनरल म्यानेजर (डिजिएम) गौरव सिलोडियाले बताए । 

उनले चिनीको विक्री हुन नसक्दा उखु किसानहरुको रकम भुक्तानी गर्नमा ढिलाई भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ