arrow

खाडीक्षेत्रको तनाव र अमेरिकाको भूमिका 

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
Oil-Tanker-Fire.jpg

एजेन्सी। पछिल्लो समय खाडी क्षेत्रका मुलुकबीच तनाव बढ्दो क्रममा छ। विशेषगरी विभिन्न किसिमको आक्रमण र तेलको विषयमा उनीहरुको बीचमा तनाव देखिएको हो। तनाव जारी रहेकै अवस्थामा अघिल्लो शनिवार साउदी अरेबियाको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अराम्कोको दुई तेल प्लान्टमा यमनका हुथी विद्रोही समूहले ड्रोन आक्रमण गर्‍यो।

यो आक्रमणको जिम्मा हुथी विद्रोहीले लिँदै गर्दा अमेरिकाले भने यो आक्रमण इरानले गरेको दाबी गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस्तो आरोप लगाएका हुन्। यो आक्रमणमा दोषारोपणका लागि यति हतार गर्नुले खाडी क्षेत्रमा तनाव बढ्नुमा अमेरिकाको उपस्थिति निकै महत्वपूर्णरुपमा रहेको सहजै अनुमान गर्न सकिन्छ। 

अमेरिकाले यो आक्रमणको इरानलाई लगाउनुको पछाडि उसको पछिल्लो समय इरानसँग देखिएको तनाव प्रमुख कारण हो। इरानसँगको अमेरिकाको तनाव उत्कर्षमा रहेको अवस्थामा यस किसिमको आक्रमण साउदी अरेबियाको तेल प्लान्टमा भएको आक्रमणलाई उसले दोषारोपणको राम्रो मौकाको रुपमा उपयोग गरेको हो।

तर, यसो भन्दैमा अमेरिकाले इरानमाथि लगाएको आरोप पूर्णरुपमा गलत हो भन्न सकिने अवस्था भने छैन। घटनाको प्रकृतिले प्रत्यक्षरुपमा इरानको संलग्नता नरहे पनि अप्रत्यक्षरुपमा भने केही मात्रामा यो आक्रमणमा इरानको हात रहेको देख्न सकिन्छ। आक्रमणको जिम्मा यमनको विद्रोही समूह हुथीले जिम्मेवारी लिएको छ। आक्रमणको जिम्मा हुथीले लिए पनि साउदी अरेबियाले भने पुष्टि हुन बाकीँ रहेको बताउदै आएको छ। 

आक्रमणको कारण 
यमनमा साउदी गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ। यसको प्रतिशोधस्वरूप उक्त संगठनले अराम्कोको तेल बजारलाई लक्षित गरेका हुन्। यसअघि पनि हुथी विद्रोहीले साउदीतर्फ मिसाइल आक्रमण गर्दै आएका थिए। 

हुथी व्रिद्रोहीको प्रभाव पनि यमनमा बढ्दो क्रममा छ। यसले साउदीको तेल बजार अझै सुरक्षित छैन भन्ने संकेत गरेको छ। हाल हुथी विद्रोहीले यमनको राजधानी सानासहित अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिसकेका छन्।

संयुक्त राष्ट्रसंघले यसअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार हूथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार ५०० किलोमिटरसम्म यात्रा गर्न सक्छन्। यी ड्रोनबाट यमनका छिमेकी मुलुक साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा सहजै प्रहार गर्न सकिन्छ। यसले पनि साउदी अरेबियाको लागि हुथी विद्रोही आगामी दिनमा थप घातक बन्नसक्ने देखिन्छ। त्यसो त कुनै पनि विद्रोही समूहले कुनै पनि मुलुकलाई फाइदा त गर्दैन। तर, साउदी अरेबियाको मामिलामा भने तेलको व्यापारमा विद्रोही समूह हुथी निकै ठूलो अवरोधको रुपमा देखा पर्दै गएको छ। 

अमेरिकाले आक्रमणमा इरानलाई संकेत गर्नुको पछाडि उसको हुथीसँगको सम्बन्ध पनि हो। हुथी विद्रोही शिया मुसलमान इरान समर्थित मानिन्छन्। (इरान शिया बाहुल्य मुस्लिम राष्ट्र हो भने साउदी अरेबिया सुन्नी बाहुल्य मुस्लिम राष्ट्र हो।) यति मात्र पनि होइन, अमेरिकाले तेलमाथि प्रतिबन्ध लगाउँदा इरानले आफूले तेल विक्री गर्न नपाए खाडी क्षेत्रका कुनै पनि मुलुकले तेल निर्यात गर्न नसक्ने चेतावनी दिएको थियो। यसले पनि अमेरिकाको आशंकालाई केही सहयोग गर्छ। यसका साथै इरानले खाडीको तेल निर्यातको सबैभन्दा व्यस्त रुट स्ट्रेइट अफ हर्मुज क्षेत्रबाट केही ट्यांकरलाई नियन्त्रणमा पनि लिइसकेको छ।

आक्रमणको क्षति
ड्रोन आक्रमणबाट तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी अरेबियाले बताएको छ। आक्रमणको कारण साउदी अराम्कोले गर्दै आएको तेल उत्पादनमध्ये प्रतिदिन ५७ लाख ब्यारेल तेल उत्पादन रोकिएको बताएको हो। तर, एक साताभित्रै उसले आफ्नो उक्त तेल उत्पादन पुनः शुरु भइसकेको बताइसकेको छ। 

अघिल्लो शनिवार भएको यो आक्रमणपछि रोकिएको तेल उत्पादन साउदी अरेबियाको समग्र दैनिक उत्पादनको आधा बराबरको हो। जसको कारण साउदीको तेल निर्यातमा नै समस्या आउनसक्ने अनुमान गरिएको थियो। यो आशंकाको कारण तेलको मूल्य पनि गत अघिल्लो साताको सोमवार २० प्रतिशतभन्दा बढीले बढेको थियो। तर, अराम्कोले रोकिएको उत्पादनमा सुधारको लागि गरेको पहलपछि पुनः तेलको भाउ सामान्य बन्दै गएको छ।

ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो। तर, केही समयमा नै आगो साउदी अरेबियाको सरकारले नियन्त्रणमा लिएको छ। केही महीनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरुमा हुथी विद्रोहीहरुले मानवरहित विमान (ड्रोन) बाट आक्रमण तीव्र बनाएका छन्। 

आक्रमणमा अमेरिकी चासो
साउदी अरेबियामा भएको आक्रमणमा अमेरिकाको चासोलाई पनि विश्लेषकले विशेष अर्थमा हेरेका छन्। अहिले अमेरिकाले इरानको तेलमाथि प्रतिबन्ध लगाएको छ। यस्तो अवस्थामा खाडी क्षेत्रको कुनै पनि मुलुकको तेल उत्पादन तथा आपूर्ति रोकिनुले उसको प्रतिबन्ध कार्यान्वयनमा नआउने खतरा रहन्छ। त्यसैले उसले साउदी अरेयिबा तथा अन्य मुलुकको तेल उत्पादनमा कुनै अवरोध नहोस् भन्ने चाहन्छ। अझ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालगायतका मुलुकलाई तेलको उत्पादन बढाउन आग्रह गर्दै आएका छन्। त्यसैले पनि साउदी अरेबियामा भएको आक्रमणबारे अमेरिकाको चासो देखिएको हो। आगामी दिनमा साउदीको तेलमा थप आक्रमण हुनसक्ने भन्दै अमेरिकाले यो क्षेत्रमा सेना पठाउने निर्णय पनि गरिसकेको छ। यसले पनि आगामी दिनमा यो क्षेत्रमा तनाव झनै बढ्नसक्ने देखाएको छ।

अमेरिका पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) का अन्य मुलुकले तेल उत्पादन बढाउँदै इरानको तेल निर्यातमा लागेको प्रतिबन्धपछिको बजारको कमी पूरा गरून् भन्ने पक्षमा छ। साथै उसले आफ्नो तेल उत्पादन पनि बढाइसकेको छ। यसअघि अघिल्लो बिहीवार अरन्तर्राष्ट्रिय ऊर्जा नियोग (आईईए) ले यस वर्ष अमेरिका विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक बन्नसक्ने बताएको थियो। अमेरिका यस वर्ष कच्चा तेल निर्यातमा साउदी अरेबियालाई पछि पार्नसक्ने अवस्थामा रहेको उसको भनाइ छ। अमेरिका र इरानबीचको विवादपछि उत्पन्न तनावले पछिल्लो समय समग्र तेल बजार प्रभावित बन्दै आएको छ।

अबको बाटो
साउदी आक्रमणपछि अमेरिका र इरानबीचको तनाव झनै बढ्ने स्पष्ट छ। त्यसको केही संकेत अहिले पनि देखिइसकेका छन्। अमेरिकाले साउदी अरेबियामा सेना पठाउने निर्णयसम्म गरिसकेको छ। साउदी अरेबियाले पनि यो आक्रमणमा इरानमाथिको अनुसन्धान गरिने बताएको छ। इरानले भने यसको खण्डन गर्दै आएको छ। उसले अमेरिका युद्धका लागि उद्यत रहेको आरोप लगाएको छ। त्यसो त अमेरिकाको इरानको बीचमा एकअर्कामा आरोप-प्रत्यारोप चल्नु कुनै नौलो कुरा भने होइन। यसअघि पनि उनीहरुको बीचमा यस किसिमको आरोप-प्रत्यारोप चल्दै आएका छन्। अमेरिकाले इरानमाथि आक्रमणको लागि आदेश पनि दिइसकेको थियो। तर, अन्तिम समयमा उसले उक्त निर्णय फिर्ता लिएको थियो।

अमेरिका इरानमाथि निरन्तर दबाब बढाउने पक्षमा देखिन्छ। साउदी आक्रमणमा इरानको हात रहेको भन्दै अमेरिकाले इरानको केन्द्रीय बैंकमाथि पनि प्रतिबन्धको निर्णय गरिसकेको छ। ट्रम्पले इरानमाथि अहिले अमेरिकाले लगाएको प्रतिबन्ध अहिलेसम्मकै कठिन प्रतिबन्ध रहेको बताएका छन्। इरानले भने अमेरिकाको प्रतिबन्धको बीच पनि आफ्नो तेल उत्पादन नरोकिने दाबी गर्दै आएको छ। तर, उसका प्रमुख तेल खरीदकर्ता मध्ये चीनबाहेकका मुलुकले भने इरानको तेल आयात रोकिसकेका छन्। अमेरिकाले इरानको तेल निर्यात शून्य बनाउन चीनको तेल आयातको विषयमा चासो व्यक्त गरेको छ। तर, चीनले पनि यसलाई व्यपारयुद्धको एक एजेन्डा बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ