काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का उपमहासचिव जनक चौधरीले मधेसवादी दलहरुसँग कुनैपनि विचार नभएको भन्दै उनीहरुको संख्या पातलिंदै गएको ठोकुवा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाले गरेको दिवंगत रामबहादुर तामाङको श्रद्वाञ्जली कार्यक्रममा उनले मधेसवादी दलसँग आवद्ध व्यक्तिहरु समेत विस्तारै पार्टीबाट किनारा लाग्ने जिकिर गरे ।
उनले भने, ʽजतिपनि क्षेत्रिय र मधेसवादी दलहरु छन्, उनीहरुसँग विचार छैन । कुनैपनि पार्टी चल्न विचार चाहिन्छ । विचार नभएका मधेसवादीदलहरु पातलिंदै जान्छन् ।ʼ मधेसवादी दलहरुको कुनै खास लक्ष्य नभएको भन्दै चौधरीले ती दलसँग संवद्ध व्यक्ति धेरै समय उनीहरुको विश्वासमा नरहने बताए । चौधरीले भने, ʽमधेसवादीहरुको कोही पूर्व कम्युनिष्ट, कोही पूर्व कांग्रेस लगायत विभिन्न पृष्ठभूमिको जमघट हो । यो अस्थाई हो । सबै विचारबाट अलग भएर एक्ला एक्लै मान्छेले निर्माण गर्ने पार्टीले अंगिकार गर्ने दर्शनबाट कोही मानिसको घरमा परिवर्तन हुँदैन । परिवर्तन नहुँदा मानिसहरु किनारा लाग्नेछन् ।ʼ
तामाङ परिवारलाई आर्थिक सहयोग र बालबालिको शिक्षादिक्षामा जिफन्टले सहयोग गर्ने
कार्यक्रममा इकाई समिति र जिफन्टका तर्फबाट अरनिको इकाइ कमिटिका उपाध्यक्ष रामबहादुर तामाङको परिवारलाई ७० हजार रुपैया प्रदान गरियो । रकम हस्तान्तरण गर्दै महासंघ उपमहासचिव चौधरीले दिवंगत तामाङका एक बच्चालाई जिफन्टले शिक्षादिक्षाको प्रबन्ध गर्ने घोषणा गरेका थिए । तामाङ एक इमान्दार, लगनशील, मेहनती र सामाजिक कार्यमा निकै सक्रिय थिए ।