arrow

शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो २०७६’ मेला हुँर्दै

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
nyef-expo-2019.jpg

काठमाडौं। स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन गर्ने उद्देश्यले दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’हुने भएको छ। नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको ७ औं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ को तयारी पूरा भएको मञ्चले जनाएको छ। मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुन लागेको मेलाबारे विस्तृत जानकारी गराएका हो। 

मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रबद्र्धन तथा रोजगारी सृर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए। मञ्चले सन् २००६ देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आईरहेको छ। ‘आफ्नो भन्या आफ्नै हो’भन्ने नाराका साथ आयोजना हुन गईरहेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने मञ्चले जनाएको छ।

भित्रिँदै गरेको चाडपर्वलाई लक्षित गरेर आयोजना गरिएको मेलामा विभिन्न सास्कृतिक कार्यक्रम पनि हुँदै छ। त्यसैगरी, दशैंमा सपिङ गर्नलाई समेत सहयोग हुने गरी मेलामा सामग्री प्रदर्शनमा राखिने आयोजकले जनाएको छ। दशैंको सपिङ पनि गराउने र स्वदेशी उत्पादनको बारेमा जानकारी दिन मेला उपयुक्त थलो भएको पाण्डेले बताए। 
    
यस पटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिएको मञ्चले जनाएको छ। त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सृजनामा सहयोग पुर्‍याउने अध्यक्ष पाण्डेले बताए। साना व्यवसायीलाई प्रबद्र्धन गर्न करिब १२ जना उद्यमीलाई निःशूल्क स्टलको व्यवस्था समेत गरिएको पाण्डेले बताए। 

प्रत्यक नेपालीले आफ्नो देशको आर्थिक विकासका लागि आफ्नै देशका सामान र सेवाको प्रयोग गर्ने र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान स्थापित गर्न सके देशको आर्थिक अवस्था सुदृढ तथा सवल हुने विश्वास मञ्चको छ। नेपाली उत्पादन राम्रो र हाम्रो पनि छ भनेर चिनाउन मेलामा आयोजना गरिएको मञ्चले जनाएको छ। 

मेलामा श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठुला वस्तु तथा सेवाका ७० बढी स्टल रहने मञ्चले जनाएको छ। दुई दिन चल्ने एक्स्पोमा २० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ। निःशूल्क प्रवेश दिइने मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरुका लागि खेलकुदको व्यवस्था समेत गरिएको मञ्चले जनाएको छ। मेलामा विभिन्न कलाकारले आफ्नो प्रस्तुति समेत दिने छन्। 
    
नेपाली युवा उद्यमी मञ्च देशभरिका ४० वर्ष मुनिका युवा उद्यमीहरुको साझा मञ्च हो। मञ्चका विभिन्न जिल्लामा ७ वटा शाखा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ