arrow

यमनमा मारिएका परिवारका सदस्य शोकमा

logo
एएफपी,
प्रकाशित २०७६ असोज ९ बिहिबार
yeman-attack.jpg

दुबई। दक्षिणी यमनको क्वाताबाहमा मङ्गलबार मारिएका परिवारका सदस्यहरुले आज शोक मनाइरहेका छन्। उक्त क्षेत्रमा बसोबास गर्ने अल हालिमी परिवारको एकै घरका १५ जनाको ज्यान गएको थियो। तीमध्ये सात जना बालबालिका नै परेका थिए। 

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा परी उनीहरुको ज्यान गएको बताइएको छ। इरानी सहयोग र समर्थनको हुथी विद्रोहीका विरुद्ध यमनमा सो सैनिक समूहले संघर्ष गरिरहेको छ। 

मारिएका १५ जनाको शव बुधबार नै अल फखिर गाउँमा गाडिएको थियो। हिजो उनीहरुको अन्तिम संस्कारको समयमा पनि त्यहाँ ठूलो कोलाहाल भएको थियो। आफन्तहरुको रुवाबासीले उक्त क्षेत्रमा शोक छाएको थियो। 

आज उक्त गाउँभरि नै शोक छाएको छ। शोकको यस घडीमा बिहीबार गाउँलेहरु नै जम्मा भएर शोक व्यक्त गरिरहेको जानकारी समाचारमा जनाइएको छ। मारिएका परिवारका एकजना सदस्य सलाम अल हालिमीले भने– हामी निकै ठूलो शोकमा छौँ, उनीहरुको निधनले त हामी सबै गाउँलाई नै हत्या गरिएको हो भन्ने जस्तो लागेको छ। 

उनीहरु सर्वसाधारण परिवारका सदस्य थिए। उनीहरुमाथि यसरी किन यो बज्रपात भयो भन्ने बारेमा हामीले बुझ्न सकिरहेका छैनौँ, उनीहरु यसरी मारिए होलान् भन्ने बारेमा त कसैले विश्वास गर्दैन– उनले भने।

त्यहाँ बस्ने अबास अल हालिमीको परिवार मारिएको हो। हालिमी ३८ वर्षका मात्र थिए र उनी आफ्नी श्रीमती र बालबालिकाको साथमा त्यो गाउँमा बस्दै आएका थिए। उनका पाँच बालबालिका मारिएका छन्। मारिने बालबालिकामा ३ वर्षदेखि ११ वर्षसम्मका रहेका आफन्तजनहरु बताउँछन्।

उनका भाइ र बुहारी अनि छोराछोरी पनि त्यस हमलामा परी मारिएका छन्। साउदी अरेबियाको सेनाको नेतृत्वमा यमनी सेनाको समेत सहभागितामा उक्त हलाई हमला भएको थियो।

उक्त निधनको संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार पुष्टि गरेको थियो। त्यस्तै स्वास्थ्यकर्मीहरुले भने उक्त घरको बाहिरपट्टी अर्का एकजना पनि मारिएको बताएका छन्। स्वास्थ्यकर्मीहरुका अनुसार उक्त घटनामा मारिनेको संख्या १६ पुगेको छ। तर घर बाहिर मारिएका व्यक्ति भने सो हालिमी परिवारका सदस्य नरहेको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ