arrow

चीन सरकारले अल्पसंख्यक समुदायको मानवअंग खेती गरिरहेको आरोप

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
china-human-body.jpg

एजेन्सी। चीन सरकारले आफ्ना अल्पसंख्यक नागरिको अंगको खेती एवं बिक्री बितरण गर्ने गरेको आरोप बारे संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा कुरा उठेको छ। चीनका अल्पसंख्यक समुदाय उइगुर र फालुनगोंग समुदायका मानिसहरुको अंग जिउँदै निकाल्ने गरेको आरोप लागेको छ।

पक्राउ परेका अल्पसंख्यक समुदायका मानिसहरुको अंग निकाल्ने गरेको प्रमाणित भएको अधिवक्ता हामिद साबीले बताएका छन्। चाईना न्यायाधिकरण (ट्रिबुनल), अनाधिकृत मानव अंग बेचबिखन बारे बनेको एक स्वतन्त्र जाँचबुझ समिती हो।  

उक्त न्यायाधिकरणको अध्यक्षता सर जिओफ्री नाईस क्युसीले गरेका हुन्। उनी अन्तराष्ट्रीय अदालतमा युगोशलाभियाका स्लोभोदान मिलोसेविच बिरुद्ध अभियोजक हुन्।

उनले चाईना ट्रिबुनलको अनुसन्धानको बारेमा स्वास्थ्यकर्मी, मानव अधिकार अनुसन्धानकर्मी र प्रत्यक्षदर्शीहरुको कुरा सुनेका थिए। उक्त रिपोटका अनुसार चीनमा अल्पसंख्यक समुदायका मानिसहरुको अंगको कारोवार भैरहेको स्पष्ट हुन्छ । ‘अब शंका गरिरहनु पर्ने केही छैन्’ हामिद साबीले बताए।

चीनले भने उक्त आरोपको खण्डन गरेको छ। सन् २०१५बाट मृत्युदण्ड पाएका कैदीहरुको अंग निकाल्न पनि छाडिसकेको चीनले बताएको छ। चिनिया ट्रिबुनलले हल्ला फैलाएको चीनको आरोप रहेको छ।

गत बीस बर्षदेखि चीनले उइगुर समुदायका मानिसहरुलाई बिभिन्न आरोपमा पक्राउ गर्ने र अंग निकाल्ने गरेको उक्त चाईना ट्रिबुनलको रिपोटमा रहेको छ। अल्पसंख्यकहरु बिरुद्ध चीन कडा रुपमा प्रस्तुत हुने गरेको छ।

चाईना ट्रिबुनलले स्पष्ट प्रमाण नभेटिए पनि तिब्बती र क्रिस्चियन समुदाय बिरुद्ध पनि त्यसतै ज्यादती हुने गरेको संकेतहरु फेला परेको जनाएको छ।

पक्राउ परेकाहरुको जिवितै हुँदा मुटु, कलेजो, फोक्सो, आँखाको नानी र छाला निकाल्ने गरिन्छ । अल्पसंख्यक उईगुर मुस्लिम समुदायलाई अंग बैंकका रुपमा प्रयोग गरिने पनि जनाईएको छ।

यसरी जिउँदै मानिसको अंग निकाल्नु भनेको नरसंहार हो। चीनको मानव अंग प्रत्यारोपणको उद्योग करिब १० करोड डलर बराबरको रहेको छ। चीनको मानव अंग प्रत्यारोपणको दुरुपयोगका कुराहरु बाहिर आए पछि स्पेन, ईटली, ईजरायल र ताईवानले अंग प्रत्यारोपणका लागि चीन जान निषेध गरिसकेको छ।

बेलायतको संसदमा पनि अंग प्रत्यारोपणका लागि चीन जान रोक लगाउन बील पेस हुँदैछ। चीनमा हुने अनाधिकृत अंग प्रत्यारोपण रोक्ने उद्देश्यले खुलेको ‘इट्याक’ नामक गैरसरकारी संस्थाले चाईना ट्रिबुनलको नेतृत्व गरेको हो।

संयुक्त राष्ट्र संघले स्वतन्त्र आयोग बनाउन ढिला गर्न नहुने र चीनमा भैरहेको मानव अंगको खेती बारे जाँचबुझ गर्न ढिला गर्न नहुने इट्याककी कार्यकारी निर्देशक सुसी ह्युजेजले बताईन्।

‘यसरी मानिसहरुको जिउँदै अंग निकाल्ने भनेको ‘नरसंहार’ हो । यो त दोस्रो विश्वयुद्धमा नाजीहरुले यहुदी बिरुद्ध गरेको जस्तो वा खमेर रुजको नरसंहार वा रुवाण्डामा तुत्सीहरुको हत्यासँग दाँज्न सकिन्छ’ मानव अधिकर परिषदमा साबीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ