arrow

 गुरु नानकको सम्मानमा राष्ट्र बैंकद्धारा तीन मूल्य दरका सिक्का निष्कासन

शिख समुदायको नेपालमा उल्लेख्य योगदान

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
NP_KTM_20190927__MG_0508.JPG

काठमाडौं। नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले ती सिक्का शुक्रबार राजधानीमा आयोजित समारोहमा सार्वजनिक गरे।

गुरु नानकको सम्मानमा निष्कासन गरिएका सिक्का रु १००, १००० र २५०० मूल्य दरका भएको बैंकका प्रवक्ता लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए । समारोहमा शिख हेरिटेज अफ नेपाल नामक पुस्तक पनि सार्वजनिक गरियो । उक्त पुस्तक बीपी कोइराला भारत नेपाल फाउण्डेशन, भारतीय दूतावासले प्रकाशित गरेको हो । त्यसले प्रमुख रूपमा सिख समुदयलाई नेपालसँग जोड्न खोज्ने प्रयास गरेको छ। 

सो अवसरमा शिख समुदायबाट नेपालको विकास र समृद्धिमा हुँदै आएको योगदानबारे जानकारी गराइएको थियो । सो अवसरमा गभर्नर डा नेपालले शिख समुदायबाट विभिन्न सामाजिक विकासका अतिरिक्त काठमाडौँ उपत्यकाको खानेपानी विस्तार र नेपाल पब्लिक मोटर्स सर्भिस संस्थाका माध्यमबाट यातायात क्षेत्रको विकासमा निकै ठूलो योगदान भएको बताए ।     
     
 नेपालका लागि भारतीय राजदूत पुरीले प्रत्येक व्यक्तिले आफूले आर्जन गरेको ज्ञान र सीप अरूलाई पनि बाँड्नुपर्छ भन्ने मान्यता राख्ने गुरु नानक सम्पूर्ण मानवजातिकै गुरुको रूपमा रहेको बताए । 

संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलङ्का, नेपाललगायतका देशको भ्रमण गरेका थिए । काठमाडौँ उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ । 

उपत्यकाममा एक हजार ६०० रोपनीभन्दा बढी जग्गा गुरु नानक सभ्यताको प्रवद्र्धनका लागि तत्कालीन राजाहरूले उपलब्ध गराएको इतिहास छ । हालको कुपण्डोलस्थित गुरुद्वारा २०३२ सालतिर बनाइएको हो । नेपालमा शिख समुदायको नेपालजञ्ज, वीरगञ्ज, बुटवल र कृष्णनगरलगायतका क्षेत्रमा बसोबास रहेको छ । सो समुदायले नेपाल र भारतबीच रहँदै आएको सम्बन्ध विस्तारमा योगदान पुर्याउँदै आएका छन् ।     

उक्त समारोहमा एस हरप्रीत सिंह, शोरोमणि गुरुद्वारा प्रभावक कमेटीका अध्यक्ष एस गोबिंद सिंह लोंगोवाल, अमृतसर, पंजाब, हरियाणा र हिमाचलको ऐतिहासिक गुरुद्वाराका निर्वाचित व्यवस्थापकहरु उपस्थित थिए। 

पंजाब प्रदेशका केही प्रमुख सिख नेताहरूको पनि उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा लोकसभाका पूर्व उप–सभामुख चरणजीत सिंह अटवाल पनि सहभागी थिए । उक्त कार्यक्रममा नेपालका सिख समुदायका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका नेपालीहरू पनि उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ