arrow

इरानको तेल व्यापार र अमेरिकासँगको सम्बन्ध

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
Iran-US.jpg

काठमाडौं। पछिल्लो समय इरान र अमेरिकाको बीचमा तनाव बढ्दो क्रममा देखिएको छ। अमेरिका लगातार इरानमाथि प्रतिबन्ध लगाउँदै विभिन्न किसिमको दबाब सृजना गर्ने दिशामा अघि बढेको छ भने इरान त्यसबाट बच्दै तेल व्यापार नियमित राख्नका लागि विभिन्न किसिमको प्रयास गरिरहेको छ। 

इरान र अमेरिकाको इतिहास हेर्ने हो भने यी दुई मुलुकको सम्बन्ध त्यति राम्रो छैन। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि भने यी दुई मुलुकको सम्बन्ध थप चिसिएको छ। गत वर्ष ट्रम्पले सन् २०१५ मा अमेरिकासहितका विश्वका ६ शक्तिराष्ट्र र इरानसँग भएको पारमाणविक सम्झौताबाट बाहिरिँदै इरानमाथि पुनः प्रतिबन्धको निर्णय गरेका थिए । ट्रम्पको यो निर्णयसँगै अहिले इरान समस्यामा परेको हो।

ट्रम्पले सम्झौताबाट बाहिरिनुका साथै इरानको तेलमाथि प्रतिबन्धको घोषणा गरेका थिए। उनले घोषणासँगै केही समय विश्वका केही मुलुकलाई यो प्रतिबन्धमा छूट दिइएको भए पनि पछिल्लो समय भने उसले आफ्नो प्रतिबन्ध नमान्ने कम्पनी तथा मुलुकलाई निसाना बनाइरहेको छ। 

तेल निर्यातमा अमेरिकाले पछिल्लो समय गरेको कडाइसँगै इरान पनि समस्यामा परेको छ। इरानको अर्थतन्त्रमा तेल निर्यातले निकै महत्वपूर्ण हिस्सा ओगट्दै आएको थियो। यस्तो अवस्थामा इरानको लागि तेल निर्यात शून्यमा झार्दै प्रतिबन्ध सफल बनाउने तयारीमा अमेरिका छ। इरान त्यसको ठीक विपरीत अमेरिकालाई रोक्दै अर्थतन्त्रमा बलियो देखिँदै प्रतिबन्ध असफल पार्ने प्रयत्नमा छ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका अन्य मुलुकले भने उक्त सम्झौता पालना हुनुपर्ने बताउँदै आएका छन्। इरानले पनि यो सम्झौतामा आफ्नो कुनै त्रुटि नहुँदा पनि अमेरिका बाहिरिएको भन्दै आलोचना गर्दै आएको छ। इरानले आफूमाथिको प्रतिबन्ध नहटेको खण्डमा आणविक सम्झौताका सबै बुँदा आफूले नमान्ने चेतावनी दिँदै आएको छ। तर, यो कदमले इरानलाई अहिलेसम्मकै खराब नतिजातर्फ डोर्‍याउने ट्रम्पले चेतावनी दिँदै आएका छन्।

त्यसका साथै इरानले अमेरिकाको प्रतिबन्धको बीचमा आफूले तेल निर्यात जारी राख्ने दाबी गर्दै आएको छ। दुवै मुलुक आफ्नो अडानबाट पछि हट्ने अवस्थामा छैनन्। दुवैले लिँदै आएको अडानको कारण अहिले खाडी क्षेत्रमा नै केही समस्या देखिएको छ। यसले तेलको व्यापारमा ठूलो असर पार्नसक्ने विश्लेषकहरुले बताएका छन्। इरानको तेलमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेसँगै इरानले आफूले तेल निर्यात गर्न नपाए खाडी क्षेत्रका कसैले पनि तेल निर्यात गर्न नसक्ने चेतावनी दिएको थियो।

इरानको यो चेतावनी आएको केही समयमा नै बेलायतले इरानको सिरियातर्फ गइरहेको तेल ट्यांकरलाई नियन्त्रणमा लिएको छ। सिरियामाथिको प्रतिबन्धको उल्लंघनको आरोपमा इरानी तेल ट्यांकर कब्जामा लिइएको बेलायतले बताएको थियो। तर, इरानले भने बेलायतको आरोप अस्वीकार गरेको थियो। त्यसको केही समयमा इरानले पनि बेलायती तेल ट्यांकर कब्जामा लियो। उक्त जहाजले समुद्री नियम मिचेको आरोप लगाएको थियो। केही समयअघि मात्र उक्त जहाज इरानले छोडिदिएको थियो।

त्यसपछि अर्को एक महत्वपूर्ण घटनाको रुपमा साउदीको तेल उद्योगमाथि भएको आक्रमणलाई लिन सकिन्छ। यो मामिलामा यमनका हुथी विद्रोहीले आक्रमणको जिम्मा लिए पनि साउदी अरेयिबा र अमेरिकाले इरानले सो आक्रमण गरेको आरोप लगाएका छन्। यी घटनाले यो क्षेत्रको अवस्था थप बिग्रनसक्ने सहजै अनुमान गर्न सकिन्छ। इरानले पछिल्लो समय अमेरिकाको गतिविधि युद्धको लागि प्रेरित गर्ने किसिमको रहेको बताएको छ।

अमेरिकाले पनि इरानमाथि श्रृङ्खलाबद्धरुपमा प्रतिबन्धका कार्यक्रम अघि सारिरहेको छ। जसमा पछिल्लो समय उसले इरानको केन्द्रीय बैंक तथा मुलुकको एक कोषमाथि प्रतिबन्धको निर्णय गरेको छ। ट्रम्पले इरानको लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबन्ध भएको प्रतिक्रिया दिएका छन्। इरानका साथै अमेरिकाले इरानसँग कारोबार गर्ने अन्य मुलुकका तेल कम्पनीमाथि पनि प्रतिबन्धको निर्णय गरेको छ। यसैक्रममा उसले चिनियाँ कम्पनीहरुलाई प्रतिबन्धको निर्णय गरेको छ। उसले ५ चिनियाँ सरकारी कम्पनी र अन्य ६ कम्पनीलाई इरानबाट तेल खरीदको आरोपमा प्रतिबन्धको निर्णय गरेको छ।

चीनले भने यी प्रतिबन्ध नियमसङ्गत नरहेको जिकीर गरेको छ। यसअघि नै अमेरिकाले चीनको इरानबाट भइरहेको तेल आयातबारे चासो व्यक्त गरेको थियो। चीनले अमेरिकाले एकपक्षीयरुपमा लगाएको प्रतिबन्ध आफूले नमान्ने भन्दै इरानबाट निरन्तर तेल आयातको निर्णय गरेको थियो।

इरान अहिले अमेरिकाको प्रतिबन्ध अब थप थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ। उसले सम्झौतामा सहभागी अन्य मुलुकसँग अमेरिकाको प्रतिबन्धबाट बचाउन सहयोगको आग्रह गरेको थियो। तर, उसले भनेअनुसारको कार्य अन्य मुलुकले गर्न सकेका छैनन्। सम्झौतामा सहभागी रहेका अन्य मुलुकले इरानलाई साथ दिने वचन भने दिँदै आएका छन्। तीमध्ये चीनले भने तेल आयात जारी राखेकाले उसलाई केही राहत मिलेको छ। तर, उसको अधिकांश तेल निर्यात रोकिइसकेको छ। 

यसबाट उसलाई तेलबाट आउने राजस्वमा ठूलो नोक्सानी पुगेको छ। अर्कोतर्फ चीनतर्फ हुने तेल निर्यात पनि रोक्ने प्रयासमा अमेरिका छ। अमेरिका आफैं पनि तेल निर्यात बढाउँदै विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हुने दिशामा अघि बढेको छ। हालै सार्वजनिक भएको एक प्रतिवेदनले अमेरिका यस वर्ष विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता बन्नसक्ने देखाएको थियो।

यसबाट पनि अमेरिका इरानमाथिको तेल प्रतिबन्धको लागि हुनसक्ने सबै अवरोध हटाउने प्रयासको रुपमा रहेको देखिन्छ। त्यसका साथै अमेरिका आगामी दिनमा अहिले ओपेकका मुलुकको दबदबा रहेको तेलको बजारमा आफ्नो उपस्थिति बलियो बनाउने दाउमा देखिन्छ। यस्तोमा आपेकको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथिको प्रतिबन्धले उसलाई थप सहज हुनेछ। इरानसँगको अमेरिकाको सम्बन्धले उसको विश्वसनीयता भने केही गुमेको छ।

सन् २०१५ मा सो सम्झौता भए पनि अर्को नेतृत्व परिवर्तन भएसँगै त्यसबाट बाहिरिनुले अब अर्को नेतृत्व आउँदा अमेरिका कस्तो बन्ला भन्ने आशंका गर्न सकिन्छ। विश्वको नेतृत्वकर्ता मुलुक भन्न रुचाउने अमेरिकाको विदेशनीति यति अन्योलपूर्ण हुनु भने पक्कै पनि राम्रो होइन। अहिले ट्रम्पले अघि सारेका नीतिले आउँदो नेतृत्वलाई कतै न कतै पक्कै पनि समस्यामा पार्नेछ। इरानको मामिलामा पनि अमेरिकाले निकै कडा नीति अपनाएको छ। ट्रम्पले इरानमाथि आक्रमणको लागिसमेत निर्देशन दिइसकेका थिए।

तर, अन्तिम समयमा उनले सो निर्णय फिर्ता लिएसँगै एउटा ठूलो खतरा टरेको थियो। इरानले पनि अमेरिकाको ड्रोन खसालिदिएको थियो। यो घटनालाई यसरी हेर्दा दुवै मुलुक युद्धका लागि तम्तयार भएर बसेको देखिन्छ। स्रोत र साधनको हिसाबमा अमेरिका इरानभन्दा निकै अगाडि छ तर इरान कुनै पनि अवस्थामा पछि हट्ने पक्षमा छैन। यसअघि इराकमाथिको आक्रमणको कलंक अमेरिकाको टाउकोमा अझै देखिने गरेको अवस्थामा अझै पनि कुनै युद्धको लागि अग्रसर बन्नु अमेरिकाको लागि पक्कै पनि राम्रो संकेत होइन।

इरान समस्याको समाधान पनि दुवैले वार्ताको माध्यमबाट गर्नु जरुरी छ। यसैबीच शुक्रवार इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाले सबै प्रतिबन्ध हटाउने भन्दै वार्ताको प्रस्ताव गरेको तर बढ्दो राजनीतिक तनावको बीचमा आफूले उनको प्रस्ताव अस्वीकार गरेको बताएका छन्। उनले प्रतिबन्ध र दबाबको बीचमा वार्तामा नबस्ने बताएका छन्। यस्तोमा राजनीतिक विश्लेषकहरुले अमेरिका–इरानको तनाव झनै चर्किनसक्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ