arrow

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असोज ११ शनिबार
afghanistan-elections_-2019.jpg

काबुल। अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ। तर यस मतदानलाई प्रभावित पार्नेगरी तालिबानहले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ। यहाँका तालिबानहरुले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए। यसका कारण हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

अफगान तालिबानकै कारण दुई पटक सारिएको उक्त निर्वाचनका लागि कडा सुरक्षा व्यवस्थाबीच जारी रहेको छ। केही समयअघिको अमेरिका र तालिबान विद्रोही समूहबीचको शान्तिवार्ता भङ्ग भएपछि यो निर्वाचन आयोजना गरिएको छ।

हाल अफगानिस्तानको प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह र निवर्तमान राष्ट्रपति असरफ घानीबीच यस पदका लागि प्रतिश्पर्धा हुने भएको बताइएको छ। उनीहरू सन् २०१४ देखि सत्तामा रहनु भएको छ। अफगानिस्तानको यस राष्ट्रपतीय निर्वाचनको प्रचार प्रसारका लागि आयोजना गरिएको र्‍यालीमा भएको विस्फोटमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको बताइएको छ। 

बिहीबार र शुक्रबार पनि यहाँ विस्फोटहरु भएका छन्। त्यसमा परी केही मानिसको ज्यान गएको छ भने केही गम्भीर रुपमा घाइते भएका छन्। स्वतन्त्र निर्वाचन आयोगका प्रवक्ता जाबी सदातले समाचार संस्था एएफपीलाई बताए अनुसार मतदान गर्ने क्रम देशैभरि जारी छ। मतदान केन्द्रहरूमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ।

अफगानिस्तानमा गएका करिब चार दशकदेखि द्धन्द्ध जारी छ। लामो समयदेखि युद्धको चपेटामा परेको यस मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले देशलाई कार्यकारी अधिकारसहितको नेतृत्व प्रदान गर्नेछन्।

गएको करिब दुई दशकदेखि अमेरिकाले यहाँको सुरक्षाको व्यवस्थाको अगुवाई गरिरहेको छ। अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।

अफगानिस्तानमा हालैका दिनमा मात्र करिब १४ हजार अमेरिकी सेना रहेका छन्। ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्। पछिल्ला वर्षहरुमा सुरक्षाका गम्भीर घटनाहरुमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो। तालिबानले सत्ताच्युत गरेपछिको अवस्थामा आज मतदान जारी रहेको यो चौथो निर्वाचन हो। यो निर्वाचनबाट आएको नेतृत्वले पनि यसअघि जस्तै तालिबानहरुलाई शान्तिवार्तामा ल्याइ देशको हिंसाको अवस्थाको अन्त्य गर्ने एजेण्डा अघि सारेको छ।

त्यसैले आजको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले पनि देशको इतिहासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ।  तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन। यहाँको तालिबान विद्रोही समूहले शान्ति वार्ताको एजेण्डामा अमेरिकासँग सहमति भएपछि मात्रै अफगानिस्तानको सरकारसँग वार्ता गर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ