काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनको तयारीका लागि काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निवासमा रणनीतिक छलफल भईरहेका बेला सिटौला निवासमा काँग्रेसका नेता कार्यकर्ताको भिड लागेको छ ।
हिजो बेलुका अवेर सकिएको रणनितिक बैठकलाई आज विहान निरन्तरता दिईरहेका बेला सिटौलाकी माताको निधन भएको खवर आएपछि पार्टी सभापति शेरबहादुर देउवा सहितका नेताहरु सिटौला निवास पुगेका हुन । मातृ शोकको खवर पाउने वित्तिकै डा शेखर कोईराला पनि उनलाई समवेदना दिन सिटौला निवास धुम्वाराहि पुगेका थिए ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले भने सिटौलालाई फोन गरेर समवेदना दिएका थिए ।
आफु पक्षका २५ भन्दा बढी सांसद सहित बैठकमा बसिरहेका सिटौलालाई एक्कासी आफ्नी माताको निधन भएको खवर आएपछि बैठक नै अवरुद्ध भएको छ।
सिटौलाकी माता ८७ बर्षीया अप्सरा देवी सिटौलाको झापामा निधन भएको हो । उनको अत्यष्टीका लागि सिटौला आजै झापा जाने भएका छन भने भोली संसदीय दलको नेताको निर्वाचनमा मतदानका लागि मात्रै काठमाडौं फर्किने भएका छन् । सिटौलालाई जन्म दिने आमाको पहिले नै निधन भएपनि आज निधन भएकी आमा भने उनकी सौतेनी आमा हुन् ।
उनी झापामा गएपछि सांसदहरुसंग समन्वय गर्ने जिम्मेवारी सिटौलाले काँग्रेस नेता गगन थापा सहितका नेतालाई दिएका छन् ।
संसदीय दलको निर्वाचनमा उम्मेदवारी के कसरी दिने र कस्लाई सहयोग गर्ने भन्ने बारेमा छलफल भईरहेको थियो । विहान पनि हिजोकै निर्णय अनुसार नै अगाडी बढ्ने गरी छलफल भएको एक नेताले जानकारी दिए ।
उनीहरुको हिजोको भेलाले संसदीय दलको निर्वाचनमा सहमतिबाटै नेतृत्वको चयनका लागि आह्वान गर्दै त्यसका निम्ति पहल गर्ने निष्कर्ष निकालेको थियो ।
नेपाली काँग्रेस १३औ महाधिवेशनमा पहिलो चरणमा सभापति पदमा कसैको पनि आवश्यक मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै पहिलो चरणको मतदानमा व्यक्त मतको समेत सम्मान गर्दै पार्टी्भित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न गरेको आव्ह्वान र पहलकदमीलाई स्मरण गर्दै संसदीय दलको निर्वाचनमा पनि सहमतिको लागि आह्वान गर्दै त्यसका निम्ति पहल गर्ने निष्कर्ष हो ।
’हाम्रो पहल र प्रयासका वावजुत, पार्टी महाधिवेशनबाट नेतत्व छनौट गरेर फर्कदै गर्दा कुनै पनि गुटमा विभाजित भएको काँग्रेस होइन, एकतावद्ध भएको काँग्रेस भएको सन्देश लिएर जाने महाधिवेशनमा सहभागि प्रतिनिधी र सम्पर्ण काँग्रेसजनको यहि चाहनालाई मुर्तता दिन सकेनौं । फेरि एकपटक संसदीय दलको निर्वाचनमा त्यो अवसर आएको छ। पार्टीको आवश्यकता र समग्र काँग्रेसजनको चाहनालाई समेत मध्यनजर गर्दै सवैको भावना समेटिने र महाधिवेशनमा व्यक्त मतको सम्मान हुने गरि सहमतिमा नै संसदीय दलको नेतृत्व चयन गर्नु ठिक हुन्छ। त्यो एकताबद्ध काँग्रेसले मात्रै आज हाम्रासामु देखिएका चुनौतिको एकमुष्ट सामना गर्न र राष्ट्रिय राजनीतिमा समेत सकारात्मक सन्देश प्रवाह हुन सक्छ । त्यसका निम्ति हामीले पहल गर्नुपर्छ । ’ भेलाले निर्णय गरेको छ ।