जनतालाई कुकुर भन्ने योगेशका पीएले श्रीमतीलाई लगाए जागिर
प्रकाशित २०७६ असोज १२ आइतबार
1k
Shares
काठमाडौं । संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सचिवालयमा राखिएका स्वकीय सचिव र निजी सचिवका कारण उनी विवादमा पर्दै आएका छन् ।
स्वकीय सचिव प्रेम गुरागाईले मन्त्री भट्टराईलाई नेपालगंज विमानस्थलमा गरिएको दुब्यर्वहारका बिरुद्ध निकालेको प्रेस विज्ञप्तिमा ‘कुकुर’ शब्द प्रयोग गरेपछि विवादमा तानिएका थिए ।
अहिले मन्त्रीको नाम दुरुपयोग गर्दै उनले श्रीमतीलाई जागिर लगाएका कारण उनी विवादमा आएका हुन् । उनले श्रीमती भूमिका पौडेललाई असोज पहिलो साता नेपाल पर्यटन बोर्डमा जागिर लगाएका छन् ।
इन्टर्नका रुपमा पौडेललाई नियुक्ति दिइएको छ। सहायकस्तरको पदको तलवसुविधा पाउने गरी उनलाई जागिर लगाइएको छ । पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) दीपक जोशीको कार्यकाल २०७६ पुसमा सकिन लागेको छ ।
मन्त्री भट्टराईका निजी सचिव दीपक थापासँग जोशीको कुरा नमिलेकाले स्वकीय सचिव गुरागाईमार्फत प्रभावमा पार्नका लागि उनले उनकी श्रीमतीलाई बोर्डमा जागिर लगाएको स्रोत बताउँछ ।
स्रोतका अनुसार सीईओ जोशी कार्यकाल नवीकरण गराउन सबै उपाय प्रयोग गरी लागेका छन्। सीईओमा नवीकरणको वातावरण बनाउनका लागि उनले स्वकीय सचिव गुरागाईकी श्रीमतीलाई जागिर लगाएका हुन् ।
बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा पनि सीईओ हुन लागिपरेका छन् । उनी विज्ञापन खुलाएर सीईओ हुने दाउमा छन् ।
झापा घर भएका उनले पनि गुरागाईलाई हातमा लिनका लागि उनकी श्रीमतीलाई जागिर लगाउन सकारात्मक भुमिका खेलेका छन् ।
त्यसो त शर्मासँग गुरागाईको पहिलादेखि नै सुसम्बन्ध रहँदै आएको छ ।
सीइओ जोशी र पीए गुरागाईलाई पटक पटक सम्पर्क गर्न खोज्दा दुवैले मोबाइल भने उठाएनन् ।