- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् ।
गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो ।
हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको थियो ।
बडादशैँ शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीकी व्यवस्थापक सुशीला परियारले बताइन् । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको उनले बताइन् ।
सङ्कलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौँका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताइन् ।
उनका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडौं र स्थानीय बजारमा खपत भएको उनले बताइन् ।
सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट सङ्कलित खसीबोका बिक्री गर्दै आएको छ । यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन् ।
नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले समेत रु २० लाख बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले बडादशैँ लक्षित गरेर थालेको खसीबोका बिक्रीबाट रु २० लाख भित्राएको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष मञ्जु खनालले बताइन् ।
उनका अनुसार सहकारीले जिउँदो खसीको मासु प्रतिकिलोग्राम रु ४६० मा बिक्री गरिएको छ । किसानबाट रु ४५० मा खरीद गरी रु १० मात्र मुनाफा राखेर बिक्री वितरण गरिरको सहकारी अध्यक्ष खनालले बताइन् ।
यस्तै मध्यबिन्दु नगरपालिका–१२, तमासपुरस्थित अरुण ज्योति सामाजिक महिला उद्यमी सहकारीले पनि बडादशैँमा कृषकबाट खसीबोका सङ्कलन गरी बिक्री गरेका छ । सहकारीले सङ्कलन केन्द्र स्थापना गरी कृषकबाट खसीबोका सङ्कलन गरेर बिक्री गर्न थालेसँगै बाख्रापालन गर्ने कृषकलाई बजारीकरणको लागि सहजता भएको छ ।