arrow

नेपाली सेनाका एक महान् हस्ती : पूर्व प्रधान सेनापति जबरा रहेनन्

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
senapati-rana-new-fnl.jpg.jpeg
काठमाडौं । पूर्व प्रधान सेनापति एवं महारथी गडुल शम्शेर जबराको ८० वर्षको उमेरमा वुधबार निधन भएको छ । दिवंगत राणाको पार्थिव शरिरमा माल्यार्पण गरी प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले अन्तिम श्रद्धान्जली दिए । राणालाई नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथी तथा अधिकृतहरु, नेपाली सेनाका सकलदर्जा तथा अन्य विभिन्न व्यक्तिहरुले श्रद्धान्जली दिए । 
 
राणाका नाता कुटुम्ब तथा परिवारजनले श्रद्धाञ्जली अर्पण गरे । राणाप्रति पशुपति आर्यघाटमा नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान प्रकट गरेको थियो । उनलको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । 
 
पूर्व प्रधान सेनापति राणा र नेपाली सेना
वि.सं.१९९२ साल चैत ८ गते ललितपुरमा जन्मिएका जबरा वि.सं.२०११ श्रावण ०४ गते  नेपाली सेनामा प्रवेश गरेका थिए । २०४८ जेष्ठ १ गते प्रधान सेनापति पदमा नियुक्त भई २०५२ साल वैशाख २१ गते नेपाली सेनाबाट सेवानिवृत्त भए । 
 
वि.सं.२०१३ साल जेष्ठ २० गते देवीदत्त गणको सहायक सेनानी दर्जामा नियुक्त भएका जबराले सैनिक जीवनमा नेपाली सेनाका प्रायः सवैजसो प्रमुख युनिट र विभागहरुको नेतृत्व गरे । सेनाको पेशागत तालिम लिने क्रममा उनले जुनियर कमाण्ड कोर्स र सिनियर कमाण्ड कोर्स मित्रराष्ट्र भारतबाट र स्टाफ कलेज कोर्स जर्मनीबाट गरेका थिए । 
 
नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि गणको रुपमा भाग लिने कार्यको शुरुवात वि.सं. २०३१ सालमा इजिप्टको साइनाईमा युनेफ दुई मिशनबाट गर्दा पहिलो पटक पुरानो गोरख गणलाई खटाईएको समयमा राणा नै गणपतिको रुपमा खटिएका थिए । उनले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरे । सैनिक जीवनमा आफ्नो जिम्मेवारीहरु प्रशंसनीय ढंगबाट पुरा गरे बापत ॐ राम पट्ट, त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु प्रथम जस्ता उच्च श्रेणीका विभिन्न पदक तथा विभूषणहरु समेत प्राप्त गरेका थिए । 
 
लामो सैनिक जीवन व्यतित गरेका राणाको कार्यकालमा नेपाली सेनाको विकास र आधुनिकीकरणका अनेक महत्वपूर्ण कार्यहरु भएका थिए । उनको कार्यकालमा मुस्ताङ्ग जिल्लाको कैशाङ्गमा माउन्टेनियरिङ स्कुलको शुरुवात, नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत आधारभूत तालिम दिने सिलसिलामा स्नातक तहको अध्यापन कार्यको शुरुवात र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको स्थापना भएको थियो । त्यस्तै, कटारी-ओखलढुंगा सडक आयोजनाको निर्माण कार्यको शुरुवात लगायतका उल्लेखनीय कार्यहरु उनकै  कार्यकालमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ